खेलाडी छनोटप्रति नवयुगकाे व्यङ्ग्य – ‘रोगको लक्षण: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर'

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठले आफूलाई राष्ट्रिय टाेलीमा समावेश नगराउने कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईकाे निर्णयप्रति असन्तुष्टी जनाएका छन्। उनले टिममा पर्नका लागि चलखेल हुने गरेको आरोपसमेत लगाएका छन्। 

एसियन छनाेट चरणकाे खेलमा कतारी प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले नवयुगलाई कप्तान घोषित गरेका थिए। तर ११ असोजमा बंगलादेशविरुद् हुने मैत्रीपूर्ण खेलमा बिहीबार राष्ट्रिय टाेलीकाे घोषणा हुँदा उनी टाेलीमा अटाउन सकेनन्। २३ सदस्यीय खेलाडीमा नवयुगकाे नाम नदेखेपछि धेरैले आश्चर्य व्यक्त गरिरहेका बेला प्रशिक्षक हुमागाईले उनको खेलमा केही समस्या देखिएकाे बताएका थिए।

अब्दुल्लाह अल–मुताइरीविरुद्ध एसियन छनाेट अगाडि १० खेलाडीले बिद्राेह गर्दा नवयुगले खेलाडीलाई साथ दिएका थिएनन्। अल–मुताइरीविरुद्ध सिनियर प्राय: सबै खेलाडीले बिद्राेह गरेका थिए। यो अभियानमा नवयुगलाई पनि साथ दिन खेलाडीहरुले आग्रह गरेका थिए। तर उनले खेलाडीकाे आग्रहलाई मानेका थिएनन्। उनी नेपाल आर्मीमा आबद्ध भएका कारण पनि अनुशासन पालना गर्नुपर्ने अवस्था थियो। 

हुमागाईले छनाेट गरेकाे टिममा अनुशासनकाे कार्यवाहीमा परेका सबै खेलाडी फर्किनु र नवयुग टिमबाट बाहिरिनुलाई संयाेग मानिएकाे छैन।  बदलास्वरुप उनलाई टिमबाट निकालिएकाे हल्ला चरिरहेकाे बेला नवयुगले छनाेटलाई लिएर प्रश्न उठाएका हुन्। 

नवयुगले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पाेख्दै लेखेका छन्, ‘‘रोगको लक्षण: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर। रोगको नाम: चलखेल।’ 

प्रतिक्रिया