राजु श्रीवास्तवको निधन

काठमाडौं। नेपालमा समेत चर्चित रहेका भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। उनी ४२ दिनदेखि भारतकाे राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारार्थ भर्ना थिए।

उनकाे भारतीय समय अनुसार बुधबार बिहान १० बजे एम्समा निधन भएको हो। उनी ५८ वर्षका थिए। दिल्लीमा एक्सरसाइज गर्ने क्रममा १० अगस्टमा उनलाई ह्दयघात भएको थियो। उनको मुटु सत प्रतिशत ब्लकेज थियो। 

राजु श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो। उनको जन्म २५ डिसेम्बर १९६३ मा कानपुरको नयापुरवामा भएको थियो। उनी १९९३ मा हास्य कलाकारको रुपमा कला क्षेत्रमा प्रवेश गरेका थिए। १९८२ मा उनी कामको खाेजीमा कानपुरबाट मुम्बईतर्फ भागेका थिए। घर परिवारले मुम्बई जान राेकेपछि उनले आफ्नो घरको दिवालबाट छिमेकीको घरमा हामफाल्दै मुम्बईतर्फ लागेका थिए। छिमेकीका अनुसार उनी नाम कमाएर मात्र गाउँ फर्किन्छु भनेर कराउँदै घरबाट भागेका थिए। 

कला क्षेत्रमा राजु गजाेधरको उपनामले चर्चित छन्। उनी सुपरस्टार अमिताभ बच्चनका यति ठूला फ्यान थिए कि, दिवार फिल्म हेरेपछि हिरो बन्न मुम्बई भागेका थिए। तर मुम्बईमा केहि समय उनले ट्याक्सी ड्राइभरको रुपमा काम गर्नुपरेको थियो। यहीबाट उनको भाग्योदय भयो।

राजुले १० वर्षको अन्तरालमा ३ पल्ट एन्जियोप्लाष्टी गर्नुपरेकाे थियो।  

 

 

 

प्रतिक्रिया