दलीय राजनीतिमा होमियो ‘पत्रकारको संगठन’ प्रेस युनियन 

काठमाडौं। प्रजातन्त्रवादी पत्रकारहरुलाई संगठित गरेर स्थापना गरिएको नेपाल प्रेस युनियन पेशागत क्षेत्रबाट विस्तारित भएर सक्रिय दलीय राजनीतिमा उत्रिएको छ। नेपाली कांग्रेसप्रति सहानुभूति राख्ने पत्रकारहरुको संस्थाको परिचयमा सीमित रहेको युनियनलाई भ्रातृ संस्थाकै हैसियतमा पार्टीको छातामुनी प्रवेश गराएर पेशागत परिचयलाई अवमूल्यन गर्न थालिएको थियो। अहिले आएर संसदीय निर्वाचनमा युनियनका सदस्यलाई नेपाली कांग्रेसको उम्मेदवार बनाउन युनियनको नेतृत्व घोषित रुपमै अग्रसर भएको छ।

नेपाली कांग्रेसको ‘शुभेच्छुक संस्था’ भन्दै नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पूर्व अध्यक्ष र नेताहरुलाई उम्मेदवार बनाउन पहल गर्ने अध्यक्ष शिव लम्सालले घोषणा गरेका छन्।

प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया गरेर उनीहरुलाई संसद्मा पठाउन पहल गर्ने निर्णय गरिएको छ। 

युनियनका अध्यक्ष लम्सालले संसद्मा युनियनमा आवद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने दावी पनि गरे। युनियनमा आबद्ध पत्रकारलाई संसद्मा प्रतिनिधित्व गराउन पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउने उनले बताए।

युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले संसद्मा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताए। वाग्ले पनि तनहुँ क्षेत्र नं १ प्रदेश (क) बाट समानुपातिकतर्फ सिफारिसमा परेका छन्।

व्यवसायिक आचार संहिताको पक्षधर रहँदै आएका युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले पनि सम्भावना बोकेका पत्रकारलाई संसद्मा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने सल्लाह दिए। राष्ट्रिय सूचना आयोगका आयुक्त भैसकेका पोखरेललाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार सिफारिस गरेको छ।

पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस भएका छन्। युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश (ख) बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिसमा परेका छन्।

यस्तै युनियनका पूर्व सचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) बाट समानुपातिक, युनियन समर्थित नेपाल पत्रकार महासङ्घ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवार छन्।

यस्तै युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवार सिफारिस भएका छन्।

युनियनका ५० पत्रकारलाई नेपाली कांग्रेसले प्रतिनिधिसभा, प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ।

नेपाल प्रेस युनियन, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को संस्थागत सदस्य हो।
 

प्रतिक्रिया