सन्दीपले जबर्जस्ती गरेपछि ‘स्न्यापच्याट र इन्स्टाग्राम’ ब्लक गरेः पीडित युवतीको दावी 

काठमाडौं। नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध बलात्कारको मुद्धामा जाहेरी दर्ता भएपछि यो खबर राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनेको छ। 

उनीविरूद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीय नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको थियो। सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा छन्। उनी ६ भदौंमा टि–२० शृंखला खेल्न केन्या गएका थिए। केन्यामा ५ शृंखला खेलेपछि उनी वेष्ट इन्डिज उडेका थिए। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले पिडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएको पुष्टी गरे। उनले किशोरीको मंगलबार नै मेडिकल जाँच भएको उनले बताए। 

किशोरीको बयान अनुसार उनको सन्दीपसँगको चिनजान सामाजिक सञ्जाल ‘स्न्यापच्याट’ मार्फत भएको थियो। बलत्कारको आरोप लगाइरहेकी किशोरीले आफू सन्दीपको खेलको फ्यान भएको बताइन्। 

‘स्न्यापच्याट’ मा सन्दीपको आइडी ‘स्यान्डी ड्रिम्स’ को नाममा दर्ता छ। ‘स्न्यापच्याट’ बाट नजिकिएको छोटो समयमै सन्दीपले भेटघाटको लागि प्रस्ताव राखेको उनले बताइन्। 

बलात्कारको घटना ५ भदौंको भएको उनले दावी गरेकी छिन्। सन्दीप आफ्नो कार लिएर आफू बस्ने होस्टल नजिक आएको बताइन्। उनले उजुरीमा सन्दीपसँग फोटो लिने चाहनाका कारण आफू कफी पिउन निस्किएको बताएकी छिन्। 

तर, सन्दीपले आफूलाई भक्तपुर लगेको र बीच बाटोमा आफ्नो मोबाइल खोसेको उनको दावी छ। किशोरीले आफूले फर्किन आग्रह गरे पनि सन्दीपले समयमै होस्टेल ल्याइदिने आश्वासन दिएको र आफूहरू ८ बजे नगरकोट पुगेको बताएकी छिन्। 

‘नगरकोटमा केही खानपानसँगै सन्दीपले मद्यपान गरे। मैले फर्किने जिद्दी गरेँ। हामी काठमाडौं पुगुञ्जेल रातिको ११ बजिसकेको थियो। होस्टल बन्द भइसकेकाले कहाँ जाने भन्ने अन्योल थियो’,  उनले उजुरीमा उल्लेख गरेकी छिन्। 

सन्दीपले होटल जान प्रस्ताव गरेको र आफूसँग अर्को विकल्प नभएपछि सन्दीपको प्रस्ताव स्वीकार गरेको उनको दावी छ। 
उनले आफूले २ वटा कोठा बुक गर्न आग्रह पनि गरेको तर एउटा कोठा मात्र बाँकी रहेका कारण सँगै बस्न तयार भएको बताएकी छिन्। 

साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा जाँदा कोठामा एसी नभएको भन्दै अर्को कोठामा सरेको बयान दिएकी छिन्। उनले होटलमा अरु पनि कोठा खाली भएको सुरुमा कोठा छैन भनेर सन्दीपले गुमराहमा राखेको दावी गरेकी छिन्। यही सन्दीपले आफूलाई मादक पदार्थ पिलाएर लठ्याएर जबर्जस्ती करणी गरेको आरोप लगाइन्। 

किशोरीले जबर्जस्ती करणीको घटनापछि सन्दीपले अर्को दिन स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट आफूलाई ब्लक गरेको बताइन्। 

घटनाबाट विक्षिप्त बन्दै गएपछि आफूले ४ दिनपछि आफ्नो नजिकको एक जना साथीलाई घटनाक्रम सविस्तार सुनाएको बताइन्। उनले साथीकै सल्लाहले ‘पुलिस केस’ गर्न आएको बताइन्। 

प्रतिक्रिया