‘मर्नुअघि केही गर्ने’ रामचन्द्रको चाहना

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुन चाहन्छन्। तर उनी यो कुरा आफ्नै मुखबाट बोल्न चाहँदैनन्।

‘मैले निर्वाचनमा प्रतिपष्र्धा गर्नुको के हो भने केही गरौं भनेर नै हो, मर्नुभन्दा अगाडि केही गरौं भन्ने इच्छा छ। देशलाई सुशासनको बाटोमा लैजान केही गर्न सकिन्छ कि भन्ने सोच हो मेरो,’ नेता पौडेलले सोमबार पत्रकारहरुसँगको अनौपचारिक चियापानमा भने, ‘समय आएपछि मात्र बोल्नुपर्छ, अहिले नै बोल्यो भने अनेक किसिमका प्रतिक्रियाहरु आउन थाल्छन्।’ 

पौडेलले त्यो समय कहिले आउँछ, खुलाउन चाहेनन्। 

उनैले कुराकानी सुरु गर्दै भने, ‘नेपालमा नैतिक बल भएको नेताले मात्र भ्रष्टाचार, अनियमितता र कुशासन रोक्न सक्छ। नैतिक बल नै सबैभन्दा ठूलो बल हो।’ 

तर त्यस्तो उच्च नैतिक बल भएको नेता पाउन मुस्किल भएको यथार्थमाथि चर्चा भैरहँदा पौडेललाई सोधियो– ‘तपाईंलाई नैतिकवान् नेता भनेर चिन्ने मान्ने मानिसहरु तपाईंसँग आँट छैन भन्ने गुनासो पनि गर्छन् नि?’ 

नेता पौडेलसँग यस प्रश्नको ठोस जवाफ थिएन। उनले सोलोडोलो राजनीतिको चर्चा गरेर टारे।

उनको भनाई छ– ‘जसले देशलाई सुशासन दिनुपर्ने हो, त्यही नै कुशासनमा डुबेको हुन्छ। त्यस्तैत्यस्ताको बहुमत हुन्छ, उनकै शासन चल्छ।’ 

पछिल्लो निर्वाचनमा तनहुँबाट पराजित भएका पौडेलले फेरि प्रतिस्पर्धा गर्ने चाहना पनि लुकाएनन्। निर्वाचन जितेर देशको प्रधानमन्त्री बन्ने उत्कट चाहना बोकेका पौडेलले आफ्नो राजनीतिक आकांक्षा भने प्रष्ट शब्दमा खुलाउन हिम्मत गरेनन्।

पत्रकारहरुले आगामी निर्वाचनमा आफू प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेर भन्न किन आँट नगरेको भन्ने प्रश्न पनि गरे। तर नेता पौडेलले ‘समय आएपछि मात्र चर्चा गर्दा राम्रो हुने’ बताएर प्रसंगलाई अन्यत्रै मोडिदिए।

पाँच दलीय गठबन्धन वाध्यताको उपज भएको पौडेलको भनाई थियो। ‘हामीले गठबन्धन नगरे अर्कैले गथ्र्यो’ भन्दै पौडेलले नेपाली कांग्रेस एक्लै निर्वाचन लड्ने सम्भावना नरहेको पनि प्रष्ट्याए। 

राजनीतिक स्थीरतामै सरकारको पनि स्थीरता भर पर्ने हुनाले यसमा काम गर्न चाहनेले प्रष्ट कार्यक्रम लिएर बहस गर्नुपर्ने नेता पौडेलको भनाई छ। यसमा पनि उनले आफू त्यसका लागि उपयुक्त विकल्प भएको मनशाय व्यक्त गरे।

प्रतिनिधिसभामा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री पदको निर्वाचनमा १६ पटक प्रतिष्पर्धा गरिसकेका छन्। 

प्रतिक्रिया