सम्झना

 आफैं व्यासजस्ता थिए प्रदीप गिरि

सन् २००१ को कुरा हो, नेपाली कांग्रेसको तत्कालीन केन्द्रिय कार्यालय टेकुको बैठकबाट प्रधानमन्त्री शेर बहादुर रन्थनिँदै बाहिर आए। 'मेरो कुरा मिलेन, अब जे गर्ने उहाँहरुले नै गर्ने हो, मिडियालाई यति भनेर देउवा साईरन बजाउँदै सिंहदरबार हुँईकिए। उनको एकसूत्रीय सूर थियो, प्रतिनिधिसभा बिघटन र माओवादी 'आतंककारी' बिरुध्द ईमरजेन्सीको घोषणा। पार्टी सभापति गिरिजाप्रसाद कोईराला पनि रातो अनुहारमा प्रकट हुनुभयो तर एक शब्द नबोली हिँड्नुभयो। 

अन्य नेता कार्यकर्ताहरुको हूलमा मिसिएर प्रदीप दाई पनि मिडिया छलेर जाने चेष्टामा हुनुहुन्थ्यो शायद। तर उहाँको अग्लो कदमा त्यो सम्भव थिएन। संचारकर्मीहरुले घेरी हाले। 'भित्रको माहोल कस्तो रह्यो त दाई, कसैले सोध्यो, “राप ताप ज्यादा, प्रकाश कम' ! उहाँको संक्षिप्त जवाफ थियो। पत्रकारहरु गलल्ल हाँसे। तर उहाँलाई यसपछि थप प्रश्न कसैले पनि गरेन।  

उहाँको त्यो गजबको स्वभाव थियो। पार्टीको आन्तरिक छलफलको कुरा आयो कि कुनै कथाको उदाहरण दिएर टुङ्ग्याइदिने। प्रदीप दाई कुनै पनि पत्रकारको न्यूज सोर्स  कहिल्यै हुनुभएन। तर पनि सबैका प्रिय हुनहुन्थ्यो। 

कुरा हाईपोथेटिकल नै सहि, शैलजा प्रदीपको जोडीले साकार रुप लिएको भए नेपाली प्रजातान्त्रिक आन्दोलनको ईतिहासमा एक बिलक्षण 'पावर कपल' को उदय हुनेथियो। तर नियतिको योजना अर्कै रहेछ!  

छत्तीस सालको बिद्यार्थी आन्दोलन र त्यसपछि जनमत संग्रहको घोषणा हुँदा हाम्रो पुस्ता निम्न माध्यमिक तहमा पढ्दैथियो। हिमालय टाईम्सका प्रकाशक उज्ज्वल शर्माको डिल्लीबजारस्थित घर पञ्चायती ब्यवस्था बिरोधी केन्द्र जस्तो थियो। कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, बिष्णु बहादुर मानन्धर, निलाम्बर आचार्य, कृष्णराज बर्मा, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र गणेशराज शर्मा, नेपाली कांग्रेसका युवा नेताहरु मनमोहन भट्टराई, अरुण बाँस्कोटा आदिहरुको प्राय त्यसै घरमा उठबस हुन्थ्यो। पत्रकारहरु किशोर नेपाल, शिव अधिकारी, जयप्रकाश आनन्द, पुरुषोत्तम दाहालहरुको जमघट हुने ठाउँ पनि त्यहि थियो। अहिलेका संचार मन्त्री ज्ञानेन्द्र कार्की त त्यहाँ डेरा नै लिएर बसेका थिए। 

खानेपानी संस्थानमा बरिष्ठ ईञ्जिनियरको सरकारी जागिर खाने गणेश शाह खुलेआम बहुदलको प्रचारमा हुनुहुन्थ्यो भने रूसमा पढेका उहाँका दौंतरीहरुको जमघट पनि यसै घरमा हुन्थ्यो। भूमिगत तत्कालीन मालेको कुनै नामनिशान थिएन। सबै परस्पर बिरोधी पार्टी र विचारका थिए। तर सबैको सामूहिक लक्ष्य भने एउटै थियो- पंचायती व्यवस्थाको अन्त्य। 

बहुदलको पक्षमा भएका र हुनुपर्ने काम कुरा बाहेक सबैको मुखमा झुण्डिएको अर्को नाम थियो, प्रदीप गिरि। सबैजना यी युवा समाजवादी चिन्तकले भनेका कुराको चर्चा गर्थे। उहाँले कतै लेखेको कुराको चर्चा हुन्थ्यो। कांग्रेस र कम्युनिष्ट नेता कार्यकर्ताहरु एकै स्वरमा भन्थे, 'बीपीसँग आँखा जुधाएर राजनीतिक छलफल गर्न सक्ने कांग्रेसमा कोही छ भने त्यो प्रदीप गिरि मात्र हो। अनि सबैजना एकै लयमा मुन्टो हल्लाउँथे। चियाको चुस्कीसँगै चुरोटको सर्को लगाउँथे। चिया बोक्ने र एक सुकाको एक खिल्ली याक चुरोट किन्न दौडिने जिम्मा हाम्रो हुन्थ्यो। 

ज्ञानेन्द्र कार्कीको कोठामा नेपाली कांग्रेसका बिभिन्न प्रकाशनसँगै प्रदीप गिरिका पुस्तकहरु पनि छरपस्ट हुन्थ्यो। त्यसै घरमा हुर्केको मलाई एक रात पुलिस आएर ज्ञानेन्द्र कार्कीको कोठाका सम्पूर्ण कागजात सहित उनलाई हत्कडी लगाएर लगेको अझै याद छ। 

हामी आन्दोलनमा ढुङ्गा हान्न सक्ने तर राजनीतिक बिचारको भिन्नता बुझ्न नसक्ने उमेरकाहरुलाई सँधै जिज्ञासा हुन्थ्यो, को रहेछ यो प्रदीप गिरि भनेको? 

छयालीस सालको आन्दोलन, बहुदलीय व्यवस्थाको पुनर्स्थापना र गिरिजाप्रसाद कोईरालाको एकमना सरकार गठनको पनि धेरै पछि, एकदिन प्रदीप दाईसँग प्रत्यक्ष भेट्ने अवसर शिव अधिकारी दाईले एकदिन जुराईदिनु भयो। पहिलो भेटमै लाग्यो, कस्तो अद्भूत मान्छे रहेछ। राजनीति, धर्म, ईतिहास, साहित्य जे कुरा आउँछ, एक निमेषमै धाराप्रवाह बोलिदिन्छ! समसामयिक राजनीति र त्यसका बिसंगतिका कुरा गर्दापनि पूर्णत: साक्षी भावमा प्रस्तुत हुन्छ। न कसैको डर छ, न कसैप्रति रीस वा आशक्ति। महाभारत लेखमालामा व्यासको परिभाषा गर्दै उहाँले भन्नुभएको छ, 'कुनै पनि कथासूत्रलाई सप्रसंग व्याख्या गरेर बुझाउन सक्ने नै व्यास हो।' त्यो पहिलो भेटमा मलाई उहाँ आफैंं साक्षात व्यास जस्तो लाग्यो। 

प्रेम, जीवन र यौन प्रति उहाँको स्वच्छन्द दृष्टिकोण र त्यसलाई समाजमा निर्धक्क प्रकट गर्न सक्ने उहाँको साहस उहाँको व्यक्तित्वको अर्को उल्लेखनीय पाटो हो। 'प्रेम स्वतन्त्र हुन्छ, विवाहमा बन्धन। तर दुवै अवस्थामा यौनको भूमिका अपरिहार्य हुन्छ,' उहाँले कतै लेख्नुभएको छ। सुने अनुसार उहाँको बास्तविक जीवन पनि त्यस्तै थियो।

दिवंगत शिव अधिकारी दाई संस्कृतमा आचार्य गरेर नेपाली साहित्यमा स्नातकोत्तर गरेको मान्छे। शिवदाईले सोधेको राजनीतिक प्रश्नहरुको समेत संस्कृत श्लोक सहित व्याख्या गरिदिन्छ यो मान्छे। त्यतिले नपुगेर महाभारत देखि चेखबका कथाहरुको उदाहरण दिएर सोधेको प्रश्नको उत्तर भन्दा बढी कुरा खुलस्त पार्छ यो मान्छे। कुरा सुन्दै जाँदा एक पछि अर्को प्रश्नको जन्म गरिदिन्छ। अनि सबै प्रश्नको उत्तर आफैं दिन्छ, एक वाक्यमा। 

म र शिव दाईसँगै मेरो साथी रमेश केसी पनि थियो। अहिले रमेश पनि म जस्तै पत्रकारिताको भारी बिसाएर स्वान्त सुखाय जीवन बाँचेको छ। यू जी कृष्णमूर्तिको दर्शनबाट प्रभावित उसले त्यतिबेलै कमसेकम एक दर्जन दर्शनका ठेली पढेर पचाईसकेको थियो। उसले दार्शनिक कोणबाट केही सोध्ने चेष्टा गर्यो। प्रदीप दाईले बोल्न शुरु गरेपछि रमेश हेरकोहेर्यै भयो। पछि फर्किंदा पनि ट्याक्सीमा रमेश धेरैबेर मौन रह्यो। सुरुचि अफिस पुगेर सोधेपछि भन्छ, 'होईन, मैले नसुनेका कतिजना दार्शनिक र पुस्तकहरुको नाम उहाँले लिनुभयो, त्यो दिमागमा नोट गर्दैथिएँ।'  

औपचारिक र सामान्य परिचय बाहेक त्यो भेटमा मेरो प्रदीप दाईसँग दोहोरो कुरा भएन। यसकारण कि उहाँको कुरा सुन्न ब्यस्त मेरो दिमागले अरु कुनै प्रश्न गर्ने फुर्सद नै पाएन। म साहित्य भन्दा तातो आलू चप जस्तो फटाफट बिक्री हुने समाचारमा बढी रुचि र दखल राख्ने मान्छे। उहाँको कुराका गहिराईमा डुबुल्की मार्न मेरो बौद्धिक औकातले नै भ्याएन।  

तर उहाँको व्यक्तित्वको ओजले मलाई परेको प्रभाव सँधै रहिरहनेछ। उहाँले यस्तो प्रभाव धेरैलाई छोडेर जानुभएको छ। मलाई संचारकर्ममा प्रतिबध्द हुन आत्मविश्वास दिने किशोर नेपालका लेखहरुमा देखिने राजनीतिक चिन्तन उहाँमाथि प्रदीप दाईले पार्नुभएको त्यहि प्रभाव हो। बिजयकुमारले टीभीमा सोध्ने प्रश्नहरुमा पनि म नेपथ्यबाट प्रदीप दाईनै बोलेको सुन्छु। यो कुरा अरुले पनि याद गरेको हुनुपर्छ।  

प्रेम, जीवन र यौन प्रति उहाँको स्वच्छन्द दृष्टिकोण र त्यसलाई समाजमा निर्धक्क प्रकट गर्न सक्ने उहाँको साहस उहाँको व्यक्तित्वको अर्को उल्लेखनीय पाटो हो। 'प्रेम स्वतन्त्र हुन्छ, विवाहमा बन्धन। तर दुवै अवस्थामा यौनको भूमिका अपरिहार्य हुन्छ,' उहाँले कतै लेख्नुभएको छ। सुने अनुसार उहाँको बास्तविक जीवन पनि त्यस्तै थियो। डिल्लीबजारको त्यही घरमा कुनै बेला सिरहा बस्तीपुरकै एकजना रामदयाल यादव भन्ने मान्छे पनि केही समय बसेको थियो। स्वभावले उद्दण्ड उ हामी भन्दा केही जेठो थियो। प्रदीप दाईको अन्धभक्त। कुरै कुरामा उसले एकपटक भनेको थियो, 'हाम्रो प्रदीप दाई लेखपढमा मात्र होईन, सेक्समा पनि उहाँको भयङ्कर ईनर्जी छ।' 

आफ्नो प्रेम प्रसंगको चर्चा गर्दै उहाँले कतै 'बनारसकी एउटी केटी' को उल्लेख गर्नुभएको छ। तर तीनको थप परिचय खुलेको छैन। बीपी कोईराला महेन्द्रको जेलबाट छुटेर बनारस स्वनिर्वासनमा रहँदा प्रदीप गिरि र स्वर्गीय शैलजा आचार्यको प्रेम प्रसङ्ग सम्झने कांग्रेसीहरु अझै जीवित छन्। बीपी कोईराला स्वयंले आफ्नो आत्मवृत्तान्तमा 'शैलजाले  जोगीसँग बिवाह गर्न चाहेको' र यसले परिवारमा 'छलफलको रुप लिएको' प्रसंग लेख्नुभएको छ। प्रदीप शैलजाको प्रेम विवाहमा किन परिणत भएन, यसबारेमा बिभिन्न कथा सुनाउनेहरु पनि छन्। 

शेरबहादुर देउवाले संसद भंग गर्न ज्ञानेन्द्रलाई सिफारीश गर्दै संकटकाल लगाएपछि संबिधान अनुसार छ महिना भित्रमा हुनुपर्ने चुनाव सम्पन्न गर्न सम्भव छैन। यसले ज्ञानेन्द्रको प्रतिगामी चेष्टालाई मलजल गर्छ भन्ने कुरा प्रदीप दाईले नबुझेको होईन। तैपनि, उहाँ शेरबहादुर देउवाको पक्षमा रहनुभयो। किनभने कर्णले पाण्डवको पक्षमा लड्ने सम्भावना नभए जस्तै तत्कालीन परिस्थिति र ऐतिहासिक घटनाक्रमले उहाँ कोईरालाको दवावमा रहेको कांग्रेसी संस्थापनसँग रहन सक्ने सम्भावना थिएन। 

एउटा कथा अनुसार नेपाली कांग्रेसले पंचायती व्यवस्था बिरुद्द सशस्त्र संघर्ष गर्ने क्रममा गरेको ओखलढुंगा अपरेशनको सूचना चुहाएको शंकामा कोईराला खलकले प्रदीप गिरि र दूर्गा सुवेदीको भात भान्सा कटाएपछि यो सम्बन्ध चिसिएको हो। दूर्गा सुवेदी जीवितै हुनुहुन्छ। यसको खुलासा उहाँले कुनैदिन गर्नुहोला। तर शैलजा आचार्यले मृत्यु पर्यन्त प्रदीप गिरिसँग दोहोरो बोलचाल बन्द गर्नुभएको कुरा भने सत्य हो। 

कुरा हाईपोथेटिकल नै सहि, शैलजा प्रदीपको जोडीले साकार रुप लिएको भए नेपाली प्रजातान्त्रिक आन्दोलनको ईतिहासमा एक बिलक्षण 'पावर कपल' को उदय हुनेथियो। तर नियतिको योजना अर्कै रहेछ!  

रेडियो नेपालकी अंग्रेजी समाचार वाचिका भारती सिलवाल र प्रदीप दाईको प्रेम उहाँको मृत्युसम्म कायम रह्यो। सिलवालको पहिलो विवाहबाट जन्मिएको सन्तोषलाई प्रदीप दाईले आफ्नो सन्तानको दर्जा दिनुभयो। राजनीतिबाट टाढै रहेको सन्तोषका जैविक पिताको निधन हुँदा 'सन्तोषको बुवा'का रुपमा प्रदीप दाईकै मृत्यु भएको हल्ला पनि चलेको हो एकपटक। सन्तोष नेपाल वान टेलिभिजनमा मनोरंजन कार्यक्रम निर्माताका रुपमा काम गर्थ्यो। एकदिन उसले भनेको थियो, 'सबैजना मलाई तेरो बाउ राजनीतिमा छ, तँ किन नलागेको भनेर सोध्छन्। मेरो ईण्ट्रेश्ट नै छैन, किन लाग्ने म ? बुवाले पनि मलाई कर गर्नुहुन्न, आफ्नो मनको काम र पेशा गर भन्नुहुन्छ।' आज उही सन्तोषले प्रदीप दाईको पार्थीव शरीरलाई मुखाग्नी दिएको तस्वीर देखेर मलाई बिषादले छोपेको छ।  

प्रदीप दाईको अवसान पछि नेपाली संसदीय रंगमंचमा एक अद्भूत र उद्भट पात्रको दुर्भाग्यपूर्ण अभाव सिर्जना भएको छ। संसदमा बिरलै उपस्थित हुने, भएपछि अर्को पटक नआउन्जेलका लागि आफ्नो तरंग छोडिराख्ने जनप्रतिनिधि अब नेपालले लामो समयसम्म पाउने छैन। कार्यकर्तालाई पैसा बाँड्न नसक्ने तर आफ्नो व्यक्तित्वले थिचेर परिचालित गर्नसक्ने सक्ने राजनीतिज्ञ अब नेपालमा शायदै कोही जन्मिएला। आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीको तार लैजान प्रधानमन्त्री शेर बहादुर देउवाले देखाएको अकर्मण्यतालाई हाँसीहाँसी व्याख्या गरेर शिष्टतापूर्वक शासन प्रणालीको धज्जी उडाउन सक्ने सत्तापक्षको सांसद पनि नेपालीले अब देख्न पाउनेछैनन्।  

०७२ सालमा संबिधान जारी हुँदा बिरोध स्वरुप भोट नदिने आफ्नी सांसद सरिता गिरीलाई भारतीय प्रभावबृत्तमा रहेको एउटा मधेसी दलले समेत पार्टीबाटै निष्कासन गर्यो। भारत यो संविधानको बिरोधमा थियो। प्रदीप दाई पनि यो संविधानको बिरोध गर्दै मतदानको बेला जानाजान संसदमा अनुपस्थित हुनुभयो। यसो गर्ने सत्तापक्षीय सांंसदमा उहाँ एक्लो हुनुहुन्थ्यो। तर नेपाली कांग्रेसको अनुशासन कमिटीले उहाँको एउटा रौँ पनि हल्लाउन सकेन। एक ईमान्दार र आत्मविश्वासी राजनेताको वजन बिशेष परिस्थितिमा अनुभव हुन्छ। एक्लो बृहस्पतिका रुपमा उहाँले पनि आफ्नो वजन सावित गर्नुभयो। पोखरी फोहोर भयो भनेर छोडेर हिँड्नुभएन। फोहोरमै हेलिएर सफा गर्ने यत्नमा लागिरहनु भयो। 

महाभारतका पात्रहरुको व्याख्या गर्ने क्रममा उहाँले कर्णको सजीव चित्रण गर्नुभएको छ। एक अर्थमा उहाँ आफैं पनि कर्ण हो। जो सहि भएर पनि गलतको पक्षमा लाग्यो। 

शेरबहादुर देउवाले संसद भंग गर्न ज्ञानेन्द्रलाई सिफारीश गर्दै संकटकाल लगाएपछि संबिधान अनुसार छ महिना भित्रमा हुनुपर्ने चुनाव सम्पन्न गर्न सम्भव छैन। यसले ज्ञानेन्द्रको प्रतिगामी चेष्टालाई मलजल गर्छ भन्ने कुरा प्रदीप दाईले नबुझेको होईन। तैपनि, उहाँ शेरबहादुर देउवाको पक्षमा रहनुभयो। किनभने कर्णले पाण्डवको पक्षमा लड्ने सम्भावना नभए जस्तै तत्कालीन परिस्थिति र ऐतिहासिक घटनाक्रमले उहाँ कोईरालाको दवावमा रहेको कांग्रेसी संस्थापनसँग रहन सक्ने सम्भावना थिएन। 

यद्यपी, उहाँले प्रकाशशरण महत वा पूर्णबहादुर खड्काको स्तरमा ओर्लिएर कोईरालाको पक्षमा गाली र देउवाको पक्षमा ताली बजाउनुभएन। देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको बैठकमा प्रधानमन्त्रीको बिरोध गर्ने कोही थिएन। तर उहाँ एकजना मात्रै एक्लो बृहस्पति जस्तो देउवाको कटू आलोचकका रुपमा प्रकट हुनुभयो। राजाको आड, सेनाको भरोसा र पार्टीको बहुमत पाएका शक्तिशाली प्रधानमन्त्री देउवासँग प्रदीप दाईलाई नसिहत दिने वा कारवाही गर्ने नैतिक साहस नै भएन।   

आगामी मंसीरको संघीय निर्वाचन पछि, संसदमा कुनकुन खालका पुराना भेंडा र नयाँ बोकाहरुको प्रवेश हुनेछ, त्यो हेर्न बाँकी छ। तर प्रदीप गिरिको रिक्तताको पूर्ति हुनेछैन। 

नेपाली संसदबाट एक जाज्वल्यमान आभूषण हराएको छ। प्रदीप दाई जस्ता मान्छे एक यूगमा एक चोटी मात्र जन्मिन्छन्। तर ती मर्दैनन्। किनभने नेपाली बौद्धिक क्षेत्रका आगामी केही पुस्ताका नायकहरु चाहेर नचाहेर प्रदीप दाईको अदृश्य बिरासतभित्र आफ्नो भूमिका खोज्न बाध्य छन्। त्यसैले प्रदीप दाई जीवित छन्। 
 

प्रतिक्रिया