जन्माष्टमी

तस्विरमा पाटनको कृष्ण मन्दिरमा कृष्णाष्टमी


 ललितपुर, ३ भदौ :  पाटन मङ्गलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् ।

गए राति १ बजेदेखि दर्शनार्थीको चहलपहल मन्दिरमा रहेको मन्दिरका रेखदेखकर्ता भुवनबहादुर चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजन आउने क्रम जारी छ ।” भगवान कृष्णको दर्शनका लागि एक पटकमा तीस महिला र सोही सङ्ख्यामा पुरुषलाई प्रवेशको व्यवस्था गरिएको चित्रकारले जानकारी दिनुभयो ।

मध्यराति १२ बजे कृष्णको नित्यपूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिनाझन्झट पूजाआजा गरिरहेका छन् । दर्शन गर्ने कार्य व्यवस्थित बनाउन स्वयंसेवक खटाइएको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । 

कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ । कृष्ण भगवान्को उपासनामा दर्शनार्थीले भजनकीर्तन तथा नाचगानसमेत गरिरहेका छन् । महिला र  पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । (रासस)

SRG_6854SRG_6865SRG_6864SRG_6875_MG_2361_MG_2358_MG_2360_MG_2355_MG_2357_MG_2352

प्रतिक्रिया