तरुण गणकको जनगणना अनुभव


काठमाडौं । काँधमा कालो ब्याग, ब्यागभित्र जनगणना फाराम । मुखमा मास्क अनि हातमा कलम । तन्नेरी गणक विवेक पौडेलको मिसन हो, घरघर पुगेर जनगणना गर्नु । 

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै २५ कार्तिकबाट सुरु भएको राष्ट्रिय जनगणना–२०७८ करीब करीब सम्पन्न हुँदैछ ।  जनगणना अभियान सफल पार्न देशभर गणक घरघर पुगीरहेका छन् । यही सिलसिलामा १९ वर्षीय तरुण विवेकले पनि यसपालीको जनगणनामा गणक भएर काम गर्ने अवसर पाए ।  

९ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जनगणनामा हालसम्म करीब ९५ प्रतिशत गणना सम्पन्न भइसकेको छ । विवेकजस्ता करीब ३९ हजार गणक र ८ हजार पाँच सय सुपरिवेक्षक तथ्यांक संकलन र व्यवस्थापनमा खटिएका छन् । 
बिगतमा शिक्षक र कर्मचारी मात्र गणक हुन पाउँथे । यसपाली सरकारले युवक युवतिलाई पनि मौका दियो । विवेकजस्ता युवा विद्यार्थीलाई देश र जनता बुझ्ने यो एउटा अवसर बनेको छ । भर्खर ब्याचलर तहमा अध्ययनरहत भक्तपुर, धुन्चोपाखाका विवेक पनि यसपाली घरघरमा गएर तथ्यांक संकलनमा व्यस्त भए । 

‘हामीले जनगणनाका लागि ८० वटा प्रश्न सोध्यौं, जसमा पारिवारिक, व्यक्तिगत, शैक्षिक, बसाइसराइ तथा आर्थिक पक्षका बारेमा बुझ्यौं’, विवेक भन्छन्, ‘आफनो गाउँ, ठाउँ र मानिसहरुको बारेमा मलाई धेरै कुरा थाहा भयो । देश र जनतालाई नजिकबाट बुझ्ने मौका पाएँ ।’

आमाले पनि पहिला तथ्यांक संकलनको काम गरेकाले आमाकै प्रोत्साहनमा आफु गणक बन्न तयार भएको विवेक बताउँछन् । उनले अनलाइन फर्म भरेका थिए, गणकमा करार नियुक्ती पाइहाले । यसपाली उनले आफ्नो क्षेत्रका २ सय १० घरमा गएर गणना गर्नुपर्ने जिम्मेवारी पाएका थिए । उनले आफ्नो जिम्मेवारी करीब करीब पुरा गरिसकेका छन् । 

यस्ता गणकले तलब चाहिँ कति पाउँछन् ? भन्ने प्रश्नमा विवेक भन्छन्, ‘हामीले पाउने खरदार वा सो सरहको सुविधा हो । भनौं न २५ हजार जति पाइन्छ होला ।’

तथ्यांक फाराम बोकेर विवेक विहानैदेखि घरघरमा जान्छन् । सम्बन्धित घरको स्वामित्व, घरको जग, गाह«ो, छानो, भुईं, खानेपानीको श्रोत, खाना पकाउने इन्धन, बत्तिको स्रोत, चर्पी, घरायसी सुविधाका साधन, महिलाका नाममा जग्गाजमीन, पेशा व्यवसाय र पछिल्लो १२ महिनामा परिवारको सदस्यको मृत्यु भए नभएको विवरण मात्र हैन, विदेशमा भएका परिवारका बारेमा समेत सोध्ने गर्छन् । 

व्यक्तिगत विवरण झन विस्तृत हुन्छ । हरेकको नाम, थर, मुलीको नाता, जन्म, उमेर, जात, धर्म, पुर्खाको भाषा, मातृभाषा, नागरिकता र विवाहको अवस्थाबारे सोधिन्छ । विवेकले पनि आफ्नो जिम्मामा परेका सबैसँग यस्तो तथ्यांक सँकलन गरेका छन् । यो तथ्यांक उनले आफ्नो क्षेत्रका सुपरभाइजरलाई बुझाउनुपर्छ । 

कस्तो लागिरहेको छ त ? भन्ने प्रश्नमा विवेक भन्छन्, ‘मलाई त धेरै रमाइलो लागिरहेको छ । आफ्नै क्षेत्रका मानिसहरुलाई भेटन पाइयो । सबैसँग यही बहानामा परिचय पनि भयो । हरेक पक्षका बारेमा बुझ्ने मौका पाइयो ।’

ganak babu

गणनाका क्रममा जाँदा विवेकलाई चाहिँ टोलका सबैले सहयोग नै गरे । तर, उनका साथीहरुको अनुभव चाहिँ भिन्न रह्यो रे । कतिपय घरमा जाँदा ‘गणना गरेर के नै हुन्छ र ?’जस्ता प्रश्न पनि गरियो । 

‘कसैकसैले आफ्नो बारेमा जानकारी दिएर कति पैसा पाइन्छ ? भनेर पनि सोधे रे’, विवेक भन्छन्, ‘कसैले चाहिँ सरकारले के नै  गरेको छ र फाराम भर्ने ? पनि भने । तर, मलाई चाहिँ सबैले खुसीसाथ जानकारी दिनुभयो ।’

हो, टोल छिमेकमा जाँदा कतिपयले पल्लो घरकाले के के भरेछन् भन्दै बुझ्न खोजेको पनि विवेकको अनुभव छ ।

‘अरुले के के भरेछन् भनेर चियोचर्चो गर्नेहरु पनि भेटिए । गोप्य हुने भएकाले मैले कसैलाई देखाइन । तर, आफ्नो बारेमा भन्नुभन्दा मानिसहरुमा अरुका बारेमा चियोचर्चो गर्ने प्रवृत्ति हुँदोरहेछ भन्ने बुझीयो’, विवेक भन्छन् । 

संकलित तथ्यांक र विवरण निकै  गोप्य हुन्छ । विवेकका अनुसार अब यो सोझैं तथ्यांक विभागमा जान्छ र यसबाटै समग्र तथ्यांक निकालीन्छ । अर्थात व्यक्तिगत विवरणका आधारमा नै सरकारले देशको समग्र अवस्थाको निचोड निकाल्छ ।

प्रतिक्रिया