फिनल्याण्डमा मन्त्री पम्फाका बकम्फुसे गफ  

काठमाडौं। देशमा सरकारी सेवा र सार्वजनिक जीवनको सेवा सुधारमा सिन्को समेत भाँच्न नसकिरहेका मन्त्रीहरु बिदेश पुगेपछि किन बकम्फुसे गफ जोत्छन् भन्ने कुरा सदैव चर्चामा रहने गरेको छ। स्वदेशमा रोजगारीको अवसर नपाएर वाध्यतावश विभिन्न देशमा पुगेका युवाहरुले पठाएको रेमिटेन्सले सरकारी खर्च चलाईरहेको पक्षलाई चटक्क विर्सेर नेताहरु जग हँसाउने गफ दिईरहेका हुन्छन्। 

रोजगरीका लागि विदेशमा श्रम गरिरहेका नेपाली युवालाई दलीय गुठबन्दीमा विभाजन गर्ने अनि त्यहाँ पुगेपछि सबै नेपाली एकजुट भएर देशको बिकासमा योगदान गर्नुपर्छ भन्ने मनोरोगी भाषण दिन कुनै पनि दलका नेताले बाँकी राखेका छैनन्। एनआरएन नाम गरेको संस्थाले पनि यस्तै मनोरोगी नेता र मन्त्रीलाई आफ्नै आयबाट हवाई खर्च बेहोर्ने, भोजभतेर गर्ने र कोशेली समेत बोकाएर पठाउने भद्दा परम्परा बन्द गर्न कुनै प्रयाश गरेको देखिँदैन। दलीय राजनीतिबाट प्रवासी नेपाली पनि ग्रस्त भएकैले नेता र मन्त्रीले हावादारी गफ दिने अवसर पाउँदै आएका छन्।

मन्त्री पम्फाका गफ

हालै फिनल्याण्ड पुगेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने भनेर आवश्वासनको हवाई भाषण छाँटेकी छन्। यतिमात्र होइन उनले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्छ भनेर उपदेश छाँट्न भ्याएकी छन्।

तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रम भोजभतेरमा सामेल भएकी भुसालले, यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ, भनिछन्।

पूर्व माओवादी लडाकू पम्फाले नेपालमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको जानकारी पनि दिईछन्। विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उनले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताईछन्।  

आफ्नै पार्टी माओवादीलाई एक बनाईराख्न असमर्थ भएको कुरा बिर्सेर पम्फाले नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिईछन्। पम्फाको भनाईमा फिनल्याण्डमा बस्ने नेपालीहरू एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ। विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन।    

जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिम कम गर्ने विषयमा नेपाल सरकार र फिनीस सरकारबीच हुँदै आएको सहकार्यको निरन्तरता एवं उच्चस्तरीय अध्ययन तथा छलफलका लागि मन्त्री भुसालसहित जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित उच्चस्तरीय टोली फिनल्याण्डमा छ।
 

प्रतिक्रिया