गठबन्धन कर पनि डर पनि

गठबन्धन दलहरुको धरातल हेरेर तालमेल हुने रामचन्द्रको भनाई

चितवन। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनका बारेमा नयाँ टिप्पणी गरेका छन्। पौडेलको कथन छ गठबन्धन डर र कर दुवै हो। गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भनेर गठबन्धन जारी राख्न कांग्रेस वाध्य भएको उनको स्पष्टीकरण थियो। नेता पौडेलले भनेका छन्, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे।” 

अहिले मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको तर्क गर्दै नेता पौडेलले एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने पनि तर्क गरेका छन्। पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताउँदै गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको जानकारी दिए। पौडेलको भनाई छ, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ।”

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले  निर्णय नभएको जनाउँदै उहाँले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ। पौडेल भन्छन्, “तलको जनमत हेरेर निर्णय लिन्छौँ। कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ।”

कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन पौडेलले कार्यकर्ताहरूलाई निर्देशन दिए र भने, “कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन।”

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने सम्वाददाताहरुको प्रश्नमा उनले भने, “यो  निर्णय लिने जिम्मा पार्टीको हो। अहिले नै घोषणा गर्ने समय भएको छैन।”

आईतबार चितवनमा सम्वाददाताहरुसँग बोल्दै नेता पौडेलले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन नहुने पनि बताए। 

प्रतिक्रिया