सीमा बचाउँ अभियानका नायक देव नारायण सप्तरी–२ बाट चुनाव लड्ने, उपेन्द्र यादव र सिके राउतलाई टक्कर  

राजेन्द्र कुँवर

काठमाडौं। सीमा बचाउ अभियानका नायक देव नारायण यादवले आगामी संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टी अध्यक्ष डा. सिके राउतलाई चुनौति दिने भएका छन्। 

उनले सप्तरी क्षेत्र नम्बर–२ बाट संसदीय निर्वाचन लड्ने जानकारी दृश्य टिभीलाई दिए। यसअघिको निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले यो क्षेत्रबाट चुनाव जितेका थिए। मंसिर ४ गते हुने चुनावमा उनीसँग प्रतिस्पर्धा गर्ने घोषणा यसअघि सिके राउतले पनि गरेका थिए। 
‘यसपालि म सप्तरी क्षेत्र नम्बर–२ बाट चुनाव लड्छु,’ देव नारायण यादवले भने, ‘उपेन्द्र यादव यो क्षेत्रको टुरिस्ट उम्मेदवार हुन्। सिके राउत अस्तिसम्म देश टुक्राउने कुरा गर्थे। म यहाँको सच्चा सीमा रक्षक हुँ।’

२०७३ साल मंसिर १३ गते सप्तरीको तिलाठीस्थित दशगजामा पर्ने खाडो नदीमा एक्लौटी रूपमा भारतले बाँध बनाउन खोजेपछि उनी प्रतिकारमा उत्रिएका थिए। भारतीय प्रहरीसँग भएको मुठभेडमा उनको टाउको फुटेको थियो। उनको उपचार काठमाडौंस्थित मनमोहन अधिकारी अस्पतालमा भएको थियो। त्यतिबेला उनको टाउकोमा १४ टाँका लगाउनु परेको थियो। 

‘दशगजामा दुवै देशको सहमति बिना भारतले एक्लौटी पेलेर बाँध बनाउन थालेपछि गाउँलेलाई लगेर म प्रतिकारमा उत्रिएको हुँ,’ उनले भने, ‘त्यतिबेला मलाई सुरुमा नेपालको प्रशासनले पनि साथ दिएको थिएन। गाउँले बोकेर प्रतिकारमा उत्रिएपछि मात्र प्रशासन बाध्य भएर आएको थियो।’
अहिले तराईमा आइरहेको बाढीमा पनि आफ्नो गाउँ डुबानमा नपर्नुमा आफ्नो त्यो निर्णय सत्य सावित भएको उनको दावी छ। ‘त्यो खोलामा बाँध बनाउन दिएको भए। आज पुरै गाउँ डुबानमा पथ्र्यो,’ उनले भने। 

भारतीय थिचोमिचोको विरोध गरेबापत उनलाई २०७४ सालमा भारत सरकारले वीरपुर जेलमा बन्दी पनि बनाएको थियो। ‘नेपाल सरकारको दबाबपछि ७ दिनमा छुटे,’ उनले भने। 

२०४२ सालदेखि राजनीतिमा सक्रिय देव नारायण २०४९ सालमा नेपाली कांग्रेसबाट जिविस सदस्य पनि बनेका थिए। उनी २०७४ सालमा कांग्रेस परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका थिए।  

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस 

भारतले मलाई गोली ठोकेन, उनीहरुको कमजोरी हो

 

प्रतिक्रिया