‘काठमाडौंका जनता प्रकाशमानको कदर गर्ने मूडमा देखिँदैनन्’ 

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने आफ्नो राजनीतिक तृष्णा व्यक्त गरेका छन्। राजकाजको पहिलो स्थानमा बसेर उदाहरणीय शासन गर्ने उनको भनाई बुझिन्छ। ‘फाईनल अथोरिटी’ लोभलालचबाट माथि उठेर निर्णय गर्न सफल भयो भने भष्ट्राचार र अनियमितता कम गर्दै लैजान सकिने नेता सिंहको विश्वास छ। त्यसका लागि आफू ‘नम्बर वन’ बन्न चाहेको बताएर सिंहले प्रतिनिधिसभाको आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने योजना सार्वजनिक गरेका छन्। निर्णायक भूमिकामा रहेको नेताले लोभलालचबाट आफूलाई मुक्त राख्न सकेमा देशमा सुशासन कायम गर्न सम्भव भएको उनको विश्वास छ। उनले यो कुरा अनौपचारिक वार्ताहरुमा व्यक्त गर्दै आएका थिए, शनिबार भने उनले सार्वजनिक सभामा आफ्नो राजनीतिक आकांक्षा खुलासा गरिदिएका छन्।

सर्वमान्य नेता गणेशमान सिंहका पुत्र प्रकाशमान युवा उमेरदेखि नै नेपाली कांग्रेसको संगठनका विभिन्न तहमा निरन्तर क्रियाशील छन्। उनी महामन्त्री र उपसभापति भएर पनि पार्टीमा काम गरिसकेका नेता हुन्। नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारमा पनि उनले पटक पटक राजकाजको अवसर पाएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भने सिंह विवादमा मुछिएका थिए। आफैं सभापतिको उम्मेदवार बन्ने प्रचार गरिरहेका उनले मतदानको पूर्व सन्ध्यामा शेरबहादुर देउवालाई समर्थन गरेपछि सिंहको चर्को आलोचना भएको थियो। उनलाई राजनीतिक लाभमा परेको भनेर समेत आलोचना गरियो। 

प्रधानमन्त्री पदको प्रस्ताव अस्वीकार गरेर आफ्ना राजनीतिक सहयात्रीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका पिता गणेशमान सिंहको त्यागको चर्चा गरेर प्रकाशमानलाई आलोचनाको तारो बनाईएको थियो। 

प्रकाशमान काठमाडौं क्षेत्र नम्बर एकका प्रतिनिधि हुन्। यसपटक उनलाई यो क्षेत्रमा त्यति सहज नहुने विश्लेषण गरिँदैछ। महानगरमा स्वतन्त्र उम्मेदवारको विजयलाई हलुका रुपमा लिन नहुने भन्दै प्रतिनिधिसभाको निर्वाचनमा पनि यसको गम्भीर असर पर्ने सम्भावना रहेको चर्चा छ।

पत्रकार किशोर नेपालले सामाजीक सञ्जालमा यस्तो टिप्पणी गरेका छन्– ‘प्रकाशमान सिंहको प्रधानमन्त्री बन्ने चाहना स्वाभाविक हो। तर, काठमाडौंका जनता उनको इच्छाको कदरगर्ने मूडमा देखिँदैनन्। काठमाडौं सिंहको हातबाट खुस्किइ सकेकोछ। अब त सिंहको हातमा करेक्सन गर्ने मौका पनि छैन। चुनाव तीन महिनामात्रै पर छ।’
 

प्रतिक्रिया