१० करोडमा ६ यात्रुको अन्तरिक्ष यात्रा

फ्लोरिडा। अमेजनका संस्थापक जेफ बेजोसको स्पेश कम्पनी ब्लु ओरिजिनले बिहीबार ६ यात्रुलाई अन्तरिक्ष पर्यटनका लागि अन्तरिक्ष यात्रामा पठाएको थियो। उनीहरू प्यासुटको सहयोगले शुक्रबार सकुशल पृथ्वीमा अवतरण गरेका छन्। 

कम्पनीको न्यु शेपर्ड स्पेशक्राफ्टले टेक्सासको लञ्च साइट–१ बाट यात्राको सुरुवात गरेको थियो। स्पेशक्राफ्टले यात्रुलाई पृथ्वीभन्दा १ सय ७ किलोमिटर माथि पुर्याएको थियो। स्पेश मिशनमा १० मिनेट २० सेकेण्डको समय लागेको बताइएको छ।

स्पेशक्राफ्टको तिब्रता ३ हजार ६ सय ३ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो। 

अन्तरिक्षको यात्रा गर्नेमा पहिलो पल्ट इजिफ्ट र पोर्चुगलका पर्यटक समावेश थिए। इन्जिनियर सारा साबरी अन्तरिक्षको यात्रा गर्ने पहिलो इजिफ्टको पर्यटक र व्यापारी मारियो फेरेरा पोर्चुगाली नागरिक बनेका छन्। 

यसपालिको अन्तरिक्ष यात्रामा यु–ट्युब च्यानल डुड परफेक्टका सह–संस्थापक कोबी कटन, बेलायती–अमेरिकी पर्वतारोही बेनेसा ओ ब्रायन, टेक्नोलोजी लिडर क्लिन्ट केली थर्ड र टेलिकम्युनिकेशन निर्देशक स्टिभ यङ पनि सहभागी थिए।

blue origin

न्यु शेपर्ड स्पेशक्राफ्ट एउटा रकेट र एउटा क्याप्सुल हो। रकेट माथि पुगेपछि क्याप्सुल अलग हुने गर्छ। क्याप्सुललाई पृथ्वीमा फर्किन १० देखि ११ मिनेटको समय लाग्ने गर्छ। अन्तरिक्ष यात्रुले यस अवधिमा आफू उडेको महसुस गरेका थिए।

प्यारासुटबाट क्याप्सुल अवतरण गर्नुभन्दा केही मिनेटअघि रकेट अवतरण भइसकेको थियो। यो स्पेशक्राफ्टको विशेषता भनेको पुनः सञ्चालनमा ल्याउनु हो। अर्थात यसलाई पुनः प्रयोग गर्न सकिन्छ। अहिले अन्तरिक्षको यात्रा गरेर फर्किएको रकेटले स्पेश एक्सको फाल्कन–९ आर्बिटल रकेट जस्तै काम गर्छ। 

एक रिपोर्ट अनुसार ब्लु ओरिजिनको स्पेशक्राफ्टको एउटा टिकटको मूल्य १० करोडको हाराहारीमा थियो। ब्लु ओरिजिनले अहिलेसम्म ६ पल्ट अन्तरिक्ष यात्रुलाई अन्तरिक्षको यात्रा गराइसकेको छ। अहिलेसम्म ३१ जनाले अन्तरिक्षको यात्रा गरिसकेका छन्। ब्लु ओरिजिनले गत वर्ष जुलाईमा बेजोससमेत ३ जनालाई अन्तरिक्ष पठाएर यो मिशनको सुरुवात गरेको थियो। 


 
 

प्रतिक्रिया