महाभारत अध्याय १९

कर्ण कसरी कौरवहरूको मित्र बने?

जब कर्ण आएर आफ्नो कला देखाउन थाले, अर्जुनले तत्कालै बिचमै रोक्दै बोले, “यो व्यक्ति क्षेत्रिय होइन। तँ को होस्? यो प्रतियोगितामा बिचमै घुस्ने तेरो हिम्मत कसरी भयो? “भीम जुरूक्क उठे अनि कड्किए, “तँ कसको छोरा होस्? अहिल्यै भनिहाल्।” अचानक, असाध्यै आत्मविश्वासी एवं अर्जुनभन्दा पनि उत्कृष्ट धनुर्धर कर्णको आत्मविश्वास डगमगायो। उनीहरूले सोधे, “तेरो बुबा को हो?”  कर्ण बोले, “मेरो बुबा अधिरथ हुनुहुन्छ।” तब उनीहरूले भने, “ए, तँ सुतपुत्र (सारथिको छोरा) पो होस्! अनि, यो मैदानभित्र घुस्ने तेरो त्यत्रो हिम्मत। तुरुन्तै निस्किहाल्! यो मैदान क्षेत्रियहरूको निम्ति हो।” 

दुर्योधनले आफू सामुन्ने जीवनकै विशाल अवसर देखे अनि कुनै पनि हालतमा यसलाई खेर फाल्न चाहँदैनथे। उनको सबैभन्दा ठूलो चिन्ताको विषय यो थियो कि कौरव भाइहरूमा कोही पनि धनुर्धर थिएनन्। दुर्योधन कुनैदिन भीमलाई पराजित गर्न सक्छु भन्नेमा विश्वस्त थिए, आफ्ना केही भाइहरूले नकुल र सहदेवलाई मार्नेछन् भन्नेमा विश्वस्त थिए, साथै युधिष्ठिरलाई धर्मको बारेमा प्रवचन दिएकै भरमा हराउन सकिन्छ भन्नेमा विश्वस्त थिए। तर, उनलाई अर्जुनसँग डर थियो, किनकि अर्जुनलाई टक्कर दिन सक्ने धनुर्धर कोही पनि थिएनन्। तसर्थ, जब उनले कर्णको क्षमता र कुशलता देखे, तुरुन्तै कर्णलाई आफ्नो पोल्टामा पारिहाले। उनी उठे र कर्णको तर्फबाट राजासँग अनुरोध गरे, “बुबा, यस्तो कसरी हुन सक्छ? शास्त्रमा बताइए अनुसार एउटा व्यक्ति तीन तरिकाहरूले राजा बन्न सक्छ— कि त ऊ राजाको छोरा हुनुपर्छ, वा उसले आफ्नो क्षमता र साहसले कुनै राजालाई परास्त गरेको हुनुपर्छ वा आफैँले कुनै राज्य स्थापना गरेको हुनुपर्छ।”

“कर्ण यतिखेर यहीँ छन्। कर्ण राजा नभएको कारण देखाएर अर्जुनले उनीसँग प्रतिस्पर्धा गर्न नचाहेको हो भने, म भर्खरै उनलाई राजा बनाउँछु। टाढा कतै हाम्रो एउटा सानो राज्य छ, जसलाई अङ्ग भनिन्छ। म कर्णलाई अङ्ग देशको राजा घोषणा गर्छु। “दुर्योधनले पुजारीलाई डाके अनि त्यहीँ कर्णको राज्याभिषेक सम्पन्न भयो।”  कर्ण अङ्गराज हुन्। अर्जुनले कसैको जन्मलाई बहाना बनाएर आफू उम्किन पाउँदैनन्। कर्णको बुबा को हुन् भन्नेबारे मलाई कुनै चासो छैन। म उनलाई आफ्नो मित्र स्वीकार गर्छु। “दुर्योधनले कर्णलाई अँगालो हाल्दै भने, “तिमी मेरो भाइ हौ, र अब तिमी राजा हौ।” 

कर्ण अभिभूत भए, किनकि उनले सम्पूर्ण जीवनभरी तथाकथित तल्लो जातिको नाममा भेदभाव र अपमान खेपेका थिए। तर यहाँ, स्वयं राजाको छोरा उनको पक्षमा उभिए, अँगालो हाले अनि उनलाई राजा बनाइदिए। कर्णको निष्ठा र बफादारीले उनलाई जीवनभरको लागि बाँधिदियो। तपाईंले महाभारतमा देख्नुहुनेछ कि कुनै कारण बिनाको यो बफादारीले समयको अन्तरालमा कैयौँ पटक भयानक मोड लिनेछ। यो प्रतियोगितापछि दुर्योधनको मित्र एवं राजाको रूपमा कर्ण साथै शकुनिको साथ भएपछि कौरवहरू अझ बढी शक्तिशाली बने। कर्णको बुद्धि र कुशलताको मद्दतले उनीहरू अधिक सक्षम र दृढ बनेका थिए। दुर्योधनलाई लाग्यो कि पाँच पाण्डवहरूलाई समाप्त गर्ने सही समय यही हो।

आम मानिसहरू पनि कि त कौरव वा पाण्डवहरूको पक्ष लिइरहेका थिए। दरबारमा तथा सहरभरी मानिसहरू कसको पक्षमा छन् भन्ने कुरा तय हुँदैथियो। पूरै सहर दुई पक्षमा विभाजित भएको थियो। यता धृतराष्ट्रलाई भने यो स्थितिलाई नरोक्ने हो भने गृह–युद्धको अवस्था निम्तिनेछ भन्ने लाग्न थाल्यो। कुनै एक पक्षले पराजय भोग्नै पर्ने थियो— अवश्य नै आफ्ना सन्तानहरू हुने त कुरै भएन! धृतराष्ट्रलाई पाण्डवहरूले दरबार छोड्नुपर्छ भन्ने लागेपनि त्यसलाई सिधै भन्न सकेका थिएनन्। भीष्मले सम्पूर्ण परिस्थितिलाई ध्यानपूर्वक नियालिरहेका थिए, किनकि उनको निष्ठा केवल राज्यप्रति थियो। गृहयुद्ध सडकमा शुरु भइसकेको त थिएन, तर जो कोही दिल र दिमागबाट युद्धको लागि प्रतिबद्ध थिए। धृतराष्ट्रले सबै कुटिल सल्लाहकारहरूसँग सल्लाह लिए अनि सबैले पाण्डवहरूलाई सिध्याउने सही समय यही हो भन्ने सुझाव दिए।

शकुनिले योजना बुने। उनले भने, “यिनीहरूलाई कुनै तिर्थस्थानमा पठाइदिनु उत्तम हुनेछ।” तपाईंलाई थाहै छ कि यस संस्कृतिमा विभिन्न तिर्थस्थानहरू छन्, तर सबैभन्दा पवित्र तिर्थस्थान काशी रहेको छ। शकुनि राजा समक्ष गए अनि पाण्डवहरूलाई तिर्थस्थानको लागि काशी पठाइनुपर्छ भन्ने सुझाव दिए। धृतराष्ट्रले युधिष्ठिरलाई बोलाए अनि भने, “तिमीले आफ्नो बुबा गुमाएका छौ, साथसाथै सानै उमेरदेखि यति धेरै समस्याहरू झेलिरहेका छौ। त्यसैले, मेरो विचारमा तिमी कुनै तिर्थस्थानमा जानु उचित हुनेछ। म चाहन्छु कि तिमी काशी जाऊ अनि एक वर्षसम्म शिवको पशुपति रूपको आराधना गर। एक वर्षसम्म उनको आराधना गरेपछि फर्किएर आऊ। त्यसबेला, तिमी राजा हुन योग्य बन्नेछौ। युधिष्ठिर युवराज घोषित भइसकेका थिए, जसको अर्थ उनी राजा बन्ने वाला थिए।

युधिष्ठिर भीष्म समक्ष पुगे अनि भने, “हाम्रो काका चाहनुहुन्छ कि हामीले शिवको पशुपति रूपको आशीर्वाद लिएर आउनुपर्छ। उहाँले हामीलाई तिर्थयात्राको लागि काशी जाने सुझाव दिनुभएको छ, जुन हामीले आफ्नो वृद्धावस्थामा यसैपनि गर्नैपर्नेछ। तर, उहाँ हामीलाई यति प्रेम गर्नुहुन्छ कि यस्तो शुभ कार्यमा हामीबाट ढिला होस् भन्ने चाहनुहुन्न। उहाँ हामीलाई अहिल्यै तिर्थयात्रामा गएको हेर्न चाहनुहुन्छ।” भीष्मले व्यङ्ग्य बुझिहाले, तैपनि त्यसलाई बेवास्ता गरे। किनकि, उनको सरोकार केवल राष्ट्रको बारेमा थियो। भीष्मले गृहयुद्ध शुरु हुने सङ्केत पाइसकेका थिए, तर उनीसँग पाण्डवहरूको रक्षा गर्न तथा कौरवहरूलाई रोक्नको निम्ति कुनै उपाय थिएन। कहीँकतै, उनले समेत यो स्वीकार गरेका थिए कि पाण्डवहरू त्यहाँबाट अन्त जानु नै उनीहरूको निम्ति सबैभन्दा राम्रो कुरा हुनेछ। (सदगुरुको प्रवचनमा आधारित)

प्रतिक्रिया