सौन्दर्यका ३२ लक्षण के के हुन्

के हो सुन्दरता ?

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु केही पनि छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो विषयमा अनेक तर्क र बहस भएका छन् । सौन्दर्यका बारे अनेक साहित्यिक सिर्जना पनि भएका छन् । खासगरी महिलाको सौन्दर्य बर्णन गरिएका अनेक गीत, कविता, काव्यहरु नै पनि सिर्जना भएका छन् । यति हुँदाहुँदै पनि सुन्दरता के हो त भन्नेमा ठ्याक्कै मिल्ने परिभाषा पाइँदैन भनिन्छ ।

पूर्वीय सभ्यतामा सौन्दर्य एउटा महत्वपूर्ण पक्ष मानिंदै आएको छ । त्यसबेला पनि सुन्दरताको बयानमा अनेकौं कृति बनेका थिए । सुन्दरता भन्नेबित्तिकै नारीसँग सम्बन्धित भनेर सीधा रुपमा बुझ्ने गरिन्छ । तर पुरुष सौन्दर्य पनि यसमा महत्वपूर्ण छ भन्ने विभिन्न अभिलेखमा पाइन्छ । वास्तवमा सुन्दरताले मानिसको व्यक्तित्व झल्काउँछ ।

सुन्दर महिलाहरूका कारणले ठूला–ठूला युद्ध पनि भएको इतिहास पनि छ । विभिन्न शारीरिक बनावटका आधारमा सुन्दर भनिने चलन पुरानै हो । यसमा हरेक अंगको अवस्थाबारे उल्लेख गरिएको हुन्छ । तर पछिल्लो समय शारीरिक सुन्दरता वा बाहिरी सुन्दरतामात्र होइन आन्तरिक सुन्दरतालाई पनि महत्वका साथ चर्चा गर्ने गरिएको छ । अचेल हुने गरेको सौन्दर्यसँग सम्बन्धित प्रतियोगिताहरुमा पनि बाहिरीमात्र होइन भित्री सुन्दरताबारे छलफल र बहस हुने गरेको छ ।

विद्वानहरुका अनुसार आदर्शवादी सौन्दर्यशास्त्रले सुन्दरतासम्बन्धी जिज्ञासाको जवाफ आदर्शवादी ढङ्गबाट दिन्छ र आफ्नो धारणा अनुरूप त्यसले अलौकिक वा अभौतिक क्षेत्रमा सौन्दर्यलाई खोज्ने गर्छ । तर भौतिकवादी सौन्दर्यशास्त्रले सौन्दर्यलाई जीवनको वास्तविकता, वस्तुगत यथार्थतामा खोज्ने गर्छ भनिन्छ ।

सुन्दरताबारे कुरा आउँदा ३२ लक्षण भन्ने गरिन्छ । यी सबै लक्षण भएको मानिसलाई सुन्दर भनिने चलन पुरानै हो । धर्मशास्त्र, सौन्दर्यशास्त्रमा उल्लेख भएका ३२ लक्षण के हुन् त ?

 बुँदागत रुपमा यसरी हेरौं–

१. पद्मासनमा बस्दा वृत्ताकार ९गोलो० आसनमा हुनु
२. हातका औँला लामा–लामा हुनु
३. औंलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न सात सुगन्ध हुनु
६. हरिणका जस्ता फिला हुनु
७. गुप्ताङगहरु गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु
९. शरीरका सम्पूर्ण अङगहरु सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्ररी फर्कने हुनु
१२. पाखुरा लामा हुनु
१३। सम्पूर्ण शरीर तेजोमय हुनु
१४. शंख समान घाँटी हुनु
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. ३२ वटा दाँत हुनु
१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु
१८. समान मिलेका दाँत हुनु
१९. बंगारा स्वच्छ र सुन्दर हुनु
२०. जिब्रो लामो हुनु
२१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु
२२. पातलो स्वर हुनु
२३. बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु
२४. कुरामा अडिक रहनु
२५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु
२६. मिलेको कपाल हुनु
२७. अल्छी नहुनु
२८. अरुलाई चाँडै प्रभावमा पार्न सक्ने क्षमता हुनु
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु
३०. चमक्क चम्किने केश हुनु
३१. स्वभाव लज्जालु हुनु
३२. दृढ स्वभाव हुनु । (विभिन्न स्रोतहरुबाट)

प्रतिक्रिया