छिमेकी भारतमा मङ्कीपक्स संक्रमित २१ दिन ‘आइसोलेसन’ मा 

काठमाडौं। छिमेकी भारतमा मङ्कीपक्स संक्रमितले २१ दिन ‘आइसोलेसन’मा बस्नुपर्ने छ। भारतको स्वास्थ्य विभागले देशमा बढ्दो मङ्कीपक्स संक्रमणको जोखिमलाई विचार गर्दै यो नियम लागु गरेको हो। यसमा घाउलाई छोपेर राख्नु पर्ने र ‘ट्रिपल लेयर’ को मास्क लगाउन अनिवार्य गरिएको छ। यस बाहेक पनि सरकारले मङ्कीपक्सको जाँचका लागि टेस्टिङ किट्स र भ्याक्सिन उत्पादनका लागि टेण्डर आवहान गरेको छ। 

भारतमा हालसम्म ४ जनामा मङ्कीपक्सको संक्रमण देखिएको छ। थप, ४ जनामा आशंका गरिएको छ। सबैको स्याम्पल नेशनल इन्स्टिच्युट अफ वायरोलोजी, पूणेमा पठाइएको समाचार एजेन्सीले जानकारी दिएको छ। रिपोर्ट अझै आउन बाँकी छ। 

भारतमा मङ्कीपक्सको पहिलो संक्रमित १४ जुलाईमा केरलको कोल्लममा फेला परेको थियो। दोस्रो र तेस्रो संक्रमित पनि केरलमै फेला परेका थिए। यी तीन संक्रमित खाडी राष्ट्रबाट फर्किएका थिए। २५ जुलाईमा फेला परेको चौथो संक्रमित दिल्लीका थिए। उनी मनालीमा पार्टी गरेर फर्किएका थिए। अहिलेसम्म तेलङ्गगाना, बिहार, युपी र दिल्लीमा ४ संकास्पद संक्रमित फेला परेका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वको ८० राष्ट्रमा मङ्कीपक्सको संक्रमित फेला परेपछि स्वास्थ्य इमर्जेन्सीको घोषणा गरिसकेको छ।  
 

प्रतिक्रिया