चिकित्सकको लापरवाहीले वर्षमा २६ लाख बिरामीको ज्यान जान्छः हार्वर्ड

काठमाडौं। चिकित्सकहरूको लापरवाहीका कारण वर्षमा २६ लाख बिरामीले ज्यान गुमाउनु परेको एउटा सोधले पत्ता लगाएको छ। 

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले हालै सार्वजनिक गरेको एउटा सोधमा चिकित्सकहरूको अति–आत्मविश्वासका कारण मृत्यु दर बढेको हो। विश्वभरीमा हाल बार्षिक १३ दशमलव ४ करोड मानिसको उपचारमा लापरवाही हुने गरेको र २६ लाख मानिसले ज्यान गुमाउनु परेको सोधमा उल्लेख छ। अपरेशनमा हुने गरेको सानोतिनो गल्तीलाई रोक्न सकेको खण्डमा मात्र ५० प्रतिशत मृत्युलाई रोक्न सकिने अध्ययनले बताएको छ। यस्तै, गलत टेस्ट रिपोर्ट र गलत औषधीका कारण पनि थुप्रै समस्या निम्तिएको छ।  

रिपोर्टमा चिकित्सकहरूको उमेर बढ्दै जाँदा गल्ती पनि बढेको देखिएको छ। यसको कारण अनुभवी चिकित्सक बढी आत्मविश्वासी हुनु बताइएको छ। ‘अनुभवी डाक्टरलाई आफूले गल्ती नै गर्दिन भन्ने लाग्छ। जसका कारण उनीहरूबाट लापरवाही हुने गरेको छ,’ अध्ययनमा भनिएको छ। 

रिपोर्टमा ६० वर्षभन्दा माथिका चिकित्सकले उपचार गराउँदा १२ प्रतिशत बिरामीले अस्पताल भर्ति भएको औसत ३० दिनभित्र ज्यान गुमाएको तथ्य बाहिर आएको छ। ‘डाक्टरको उमेर बढ्दै जाँदा उनीहरूले हेरिरहेका बिरामीको मृत्यु दर पनि बढिरहेको छ। ४० भन्दा कम उमेरका डाक्टरको हकमा १० दशमलव ८ प्रतिशत, ४०–४९ वर्ष उमेर समूहको डाक्टरको हकमा ११ दशमलव १ प्रतिशत र ५०–५९ वर्ष उमेर समूहको डाक्टरको हकमा ११ दशमलव ३ प्रतिशत बिरामीको ज्यान गएको छ,’ अध्ययनको रिपोर्टले भन्छ। 

अमेरिकी जर्नल अफ मेडिसिनले पनि यसको पुष्टी गर्दै भनेको छ, ‘जुन डाक्टरले २० वर्षदेखि प्राक्टिस गरिरहेका छन्, उनीहरूबाट हुने गम्भीर बिरामीको मृत्यु दर नयाँ डाक्टर (५ साल कम अनुभव) को तुलनामा बढी देखिएको छ। यसको एउटा कारण यो पनि हुनसक्छ, अनुभवी डाक्टरहरू नयाँ उपकरणसँग धेरै अपडेट हुँदैनन्।’

रेजिडेन्ट हुँदा डाक्टरहरू धेरै बिरामीको उपचारमा तल्लीन हुन्छन्। तर, फिजिसियन बन्ने वित्तिकै उनीहरू कम बिरामी हेर्न थाल्छन्। यसले क्लिनिकल ज्ञान घट्ने गर्र्छ। नयाँ गाइडलाइन्स, रिसर्च, मेडिकल शिक्षाबाट आफूलाई टाढा राख्दा उमेर बढ्दै गएका डाक्टरको योग्यतामा पनि कमि आउने गरेको अध्ययनले बताएको छ। 

सन् २०२० को अध्ययन अनुसार १४ दशमलव ९ प्रतिशत मेडिकल स्टाफ दायाँ र बायाँलाई लिएर भ्रमित हुने गरेका छन्, जसका कारण गलत सर्जरी हुँदा बिरामीले ठूलो नोक्सानी बेहोर्नु परेको छ। 
 

प्रतिक्रिया