कोरोना संक्रमण बढ्दा सरकार उदासिन

काठमाडौं। कोरोनाको पछिल्लो संक्रमण दिनदिनै बढ्दै गएको छ भने यसबाट ज्यान गुमाउनेको संख्या समेत थपिँदो छ। संक्रमण बढ्दै जाँदा सावधानी अपनाउनु पर्ने क्षेत्रमा अनुगमन र सचेतना जस्ता कार्य भएका छैनन्। सरकारी निकायले सार्वजनिक यातायात, सभा सम्मेलन, भोजभतेर र मलामी जस्ता ठूलो संख्यामा मानिसहरु जम्मा हुने पक्षमा कुनै चासो राखेको देखिँदैन। राजनीतिक दलहरुले पनि विभिन्न स्थानमा कार्यकर्ता भेला गर्न छाडेका छैनन्।

साथै नागरिक तहमा व्यक्ति स्वयं पनि कोरोना संक्रमणप्रति उदासिन रहेको जताततै देख्न पाईन्छ। 

सरकारी तथ्याङ्क अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा २ हजार ७ सय ७८ पिसिआर परीक्षणबाट ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणबाट १४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ। त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाले ज्यान गुमाएका छन्।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २९ पुगेको छ। तीमध्ये होम आइसोलेसनमा ३७९४ र संस्थागत आइसोलेसनमा १३५ जना रहेको मन्त्रालयले जनाएको छ।
 

प्रतिक्रिया