के इन्दिराले गीत चोरेकै हुन्? 

– डा. भानु श्रेष्ठ

सिर्जना चोरी भनेको के हो? हामीले सबैभन्दा पहिले त्यो बुझनु जरुरी छ। वास्तवमा लेख, कृति र सिर्जना चोरी भनेको अरुको सिर्जनासँग मिल्दोजुल्दो हुनु या उक्त सिर्जना अनुमति बिना आफ्नोमा प्रयोग गर्नु हो। केहि भाग प्रयोग गर्नु अनि यसलाई पूर्णरुपमा आफ्नो भनि झुक्याउने प्रवृतिलाई पनि चोरी नै मानिन्छ। अन्ततः चोरी भनेको सिर्जना गर्ने व्यक्तिको अधिकारको उल्लङ्घन गर्नु हो र चोरीको सिर्जना (गीत) सुन्ने या हेर्ने दर्शकलाई पनि धोका दिनु हो।  

अब यसो भनिरहँदा गीत चोरीको निर्णायक मापदण्ड के हो त? यसतर्फ ध्यान जानु स्वभाविक छ। संगीत क्षेत्रमा चोरीको विषयलाई लिएर धेरै बहस या झगडा भएका छन्। त्यसैले यसलाई केलाएर सरसर्ती हेर्दा निर्णायक मापदण्डहरू उल्लेख भएको पाइन्छ। 

पहिलो कुरा– संगीतको ‘कपिराइट’ को नियममा बाँधिन मौलिक सिर्जना (गीत) आवश्यक छ। गीतमा प्रयोग भएको मुख्य लय (मेलोडी) सामान्य या जसलाई पनि थाहा भएको मेलोडी हो भने, चोरी भन्न गाह्रो पर्न सक्छ। तर पनि यो अदालती कुरा हो। वास्तवमा सिर्जनशील कलाकारले पहिला कतै नभएको नयाँ मेलोडी, कर्ड, आदि सिधैं बनाएर संगीतबद्ध गर्नुपर्छ। 

दोस्रो कुरा– सिर्जित गीतको राम्रो भाग आफ्नो सिर्जनामा जानाजानी प्रयोग गर्नु चोरीको मापदण्ड हुनसक्छ। यदि साचै नै आफ्नो सिर्जना र अरुको सिर्जना अनायास मिल्न गएमा यस्तो अवस्थामा अदालतबाट निर्यण हुन सक्छ। 

त्यसो हो भने इन्दिराको गीत ‘पछ्यौरी’ मा के छ त? 

‘खबर हब अनलाइन’ मा भनिएको छ, ३० जुनमा युट्युबमा रिलिज इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत ‘पछ्यौरी’ अंग्रेजी गीत ‘टक’  सँग मिल्दोजुल्दो भएपछि गायिका विवादमा तानिएकी छिन्। तर, उनले आफ्नो स्टाट्समा भने ‘स्टाइल र ट्रेन्ड’ लाई प्रयोगमा ल्याएको दावी गरेकी छिन्।  

‘कान्तिपुर अनलाइन’ मा भने इन्दिराले भनेकी छिन्,‘विदेशीले त्यही टोनको फलो गर्दा स्टाइल हुने तर नेपालीले गर्दा चोरीको आरोप लाग्ने कुराले मलाई दु:खी बनाएको छ। गीतको टेक्स्चर मात्र मिल्न गएको हो। जेसनको गीतमा ट्रम्प पेट प्रयोग गरिएको छ, मेरोमा सेक्साफोन। नोट, बाजा नै फरक छ। तर स्टाइल एउटै हो।’ 

नेपाल खबर अनलाइनका अनुसार सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेको ‘टक डर्टी’ सँग गीतको म्युजिक हुबहु मिल्छ। गीतमा प्रयोग भएको म्युजिक टोन पनि दुरुस्तै मिलेको समाचारमा उल्लेख छ। 
 
इन्दिरा जाेशीले पछिल्लो समय सार्वजनिक गरेको ‘पछ्यौरी’ गीत जेसन डेरुलोको ‘टक डर्टी’ सँग हुबहु मिल्छ भनेर साधारण मानिसले प्रतिक्रिया दिनु सामान्य कुरा मानिएला। तर, गायिका स्वयमले गीतको टेक्स्चर मिल्न गएको र ‘स्टाइल र ट्रेन्ड’ लाई मात्र फलो गरेकी हुँ भनेर हाकाहाकी भनेकी छिन्। यहाँ गायिकाले गीतको टेक्स्चर भनेर के लाई बुझाउन खोजेकी हुन्?

संगीतमा टेम्पो, मेलोडी, हार्मोनी, रिदम आदिको संयोजनलाई नै टेक्स्चर भन्ने गरिन्छ, जुन पुरै गीतको गुणस्तर र संगीतको ध्वनिसँग सम्बन्धित छ। यस अर्थमा उनी आफैले गीत कपि गरेको (चोरेको) स्वीकारिसकेकी छिन्। 

अर्को कुरा– ‘स्टाइल र ट्रेन्ड’ फलो गरेको हुँ भनिएको छ। के अंग्रेजी गीतमा मात्र चोर्न लायकको त्यस्तो स्टाइल छ र? संगीतमा अंग्रेजी गीतमा मात्र ट्रेण्डिङ्ग हुन्छ र? अनि ट्रेण्डिङ्ग गीत भए कपि (चोरी) गरिहाल्नु पर्ने कुनै बाध्यता छ र?   

सामान्य मानिसले जेसन र इन्दिरा दुवैको गीत सुन्दा पनि यो बुझ्न गाह्रो छैन, गीत मिल्दोजुल्दो छ। त्यसैले यहाँ बिशेष विश्लेषण गर्नु आवश्यक छैन। आखिर एउटै मेलोडी र रिदममा जुनसुकै बाजा बजाए पनि, नोट फरक भए पनि, त्यो चोरी नै ठहरिन्छ।

यसरी गीत संगीतको ज्ञान भएको एउटी गायिकाले त्यो गीतमा पियानो बजाएको छ, मैले हार्मोनियम बजाएको छु, त्यो गीतमा बासुरी बजाएको छ, मैले मेण्डोलिन बजाएको छु, त्यो गीत ‘डी’ बाट सुरु गरिएको छ, मेरो गीत ‘ए’ बाट सुरु हुन्छ भन्ने प्रतिक्रिया दिन्छिन् भने कताकता उनमा गीतसंगीतको बारेमा अल्पज्ञान पो छ कि, भन्ने शंका गर्ने ठाउँ रहन्छ। 

आफ्नै नेपाली गीतमा मौलिक अनि नयाँ खाले संगीत संयोजन गरेर नयाँ गीत बनाउन सकिन्छ। पृथक संगीत संयोजन हुने बित्तिकै नेपालीपन हुदैन भन्ने होइन।  बिदेशी गीतको प्रभाव पर्न सक्छ तर चोरिनु हुन्न भन्ने मेरो भनाइ हो। ट्रेण्डिङ्ग गीत सुन्नु राम्रो हो तर हुबहु या केहि अंशसम्म पनि चोरिनु हुन्न भन्ने मेरो दृस्टीकाेण हो। गीत संगीत कसलाई मन पर्दैन र? संगीत नरुचाउने सायदै कोही होलान। तर एउटा उचाईमा पुगिसकेको कलाकारले गीत चोरेर पतनको बाटोमा जानु भनेको नेपाली गीतसंगीतको क्षेत्रमै नकारात्मक प्रभाव पार्नु जस्तो हो। 

के छ त चोरीको उपचार ?

धेरै बर्ष अगाडि गीतसंगीतमा हुने चाेरीलाई ‘स्टाइल र ट्रेण्ड’ को नाममा व्याख्या गर्दै सामसुम पार्ने काम गरिन्थ्यो। त्यतिबेला ‘कपीराइट’ लाइ हलुका रुपमा हेरिन्थ्यो। तर अहिले अवस्था फेरिएको छ। कलाको चोरी बाैद्धिक चाेरी भएको भन्दै नियम र कानुन बनेका छन्। अरुको सिर्जना चोरी गर्नु भनेको गम्भीर अपराध हो। यसलाई हलुका रुपमा हेरिनु हुन्न। अदालतले दोष नदेखाए पनि कलाकारको छविमा यसले दीर्घकालीन असर पर्न सक्छ। अझ इन्दिराको हकमा यसले दूरगामी असर नपर्ला भन्ने अवस्ठा छैन। 

यो घटना नेपालमा मात्र होइन, अन्य देशमा पनि पाईन्छ। नेपालमा आपसी सहमतिमै थुप्रै विवाद टुँगिएका पनि छन्। तर, विदेशमा लामो अदालती अदालती प्रक्रियापछि संगीत चाेरी गर्नेले ठूलो मूल्य चुकाउनु परेको छ। गायिका  इन्दिराको अवस्था यदि  ‘टक डर्टी’ का अमेरिकी गायक जेसन डेरुलोले थाहा पाए अथवा उनले मुद्धामामिला गर्न चाहे, अन्तर्रास्ट्रिय मुद्धाबाट पन्छिन निकै गाह्रो पर्न सक्छ। त्यसैले यस्ता घटनाबाट संगीतकारहरू जोगिनु जरुरी छ। 

(लेखक दक्षिण काेरियाको विश्वविधालयमा अध्यापन गराउँछन्। उनी संगीतमा पनि उत्तिकै दख्खल राख्छन्।)

प्रतिक्रिया