यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ, आज ४५७ कोरोना सङ्क्रमित, एकको मृत्यु


 काठमाडौँ, २ साउन: कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ ।

    असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक-एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लामा रहेका छन् । शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ । 

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउनुहुन्छ । “भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्”, उहाँले भन्नुभयो, “ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ । ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् ।”
    
उहाँका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ । 

    नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको  सङ्क्रमित भेटिएको छ । उहाँले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताउनुभयो । महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।  

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल  गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् ।
 
    अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उहाँले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताउनुभयो । 

आज ४५७ कोरोना सङ्क्रमित, एकको मृत्यु
 काठमाडौँ, २ साउन :  देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा चार हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३४१ जनाले पिसीआर र दुई हजार ३१० जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ६४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा ९८ हजार ९०० ले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेशनमा एक हजार ७०१,  संस्थागत आइसोलेशनमा ७५, आइसियु १५ र भेण्टिलेटरमा एक सङ्क्रमित रहेका छन् । 

    हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमण दर १७ प्रतिशत रहेको छ ।  (रासस)

प्रतिक्रिया