तमिम इकबालद्धारा टी–२० क्रिकेटबाट सन्यास घोषणा

गुयना। बंगलादेशका आक्रामक ब्याट्सम्यान तमिम इकबालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। एकदिवसीय टिमका कप्तान तमिमले वेष्ट इन्डिजविरूद्ध ३ एकदिवसीय शृंखला ३–० ले जितेपछि सोसल मिडियामार्फत यसको घोषणा गरेका हुन्। 

३३ वर्षीय तमिमले आइतबार एउटा पोस्ट गर्दै भने, ‘आजबाट टी–२० इन्टरनेशनलबाट सन्यास लिएको बुझ्दा हुन्छ। सबैलाई धन्यबाद।’

वेष्ट इन्डिजविरूद्ध एकदिवसीय शृंखलामा उनी प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए। उनले तीन खेलमा १ सय १७ रन बनाएका थिए, जसमा एउटा अर्धसतक समावेश थियो। 

 

तमिमले ६ महिनाअघि जनवरीमा टी–२० क्रिकेटबाट ब्रेक लिएका थिए। उनले त्यतिबेलै आफ्नो ध्यान एकदिवसीयमा हुने बताएका थिए। 

बायाँ हाते ब्याट्सम्यानले सन् २०२० को मार्चमा अन्तिम टी–२० खेलेका थिए। उनले २००७ मा डेब्यु गरेका थिए। ७८ खेलमा उनले १७५८ रन बनकोएका छन्, जसमा १ सय ३ रनको उच्च योगफल थियो। उनले ७ वटा अर्धसतक बनाएका थिए। 
 

प्रतिक्रिया