नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु

इलाम । नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको ब्यबस्थापनमा शुक्रबारदेखि इलाममा तीन दिने ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ । कार्यक्रममा नेपालका बिभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीले भाग लिएा छन्।  कार्यक्रम तीन दिन चल्ने नेकोस राष्ट्रिय क्रिकेट संघका सह–सचिब चेतनाथ पौडेलले बताए । 

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरे । सो अवसरमा मेयर थापाले जिल्लामा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोस राष्ट्रिय क्रिकेट संघलाई धन्यबाद दिए । उनले इलाममा २०४२– ४३ सालतिर क्रिकेट भित्रिए पनि खेलको विकास र विस्तार हुन नसकेको अवस्थामा यो कार्यक्रमले जिल्लामा क्रिकेट गतिबिधि बढने विश्वास ब्यक्त गरे । 

उदघाटनमा बोल्दै नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष बिप्लभ घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउने बताए । 

नेकोस राष्ट्रिय क्रिकेट संघको मूल उदेश्यनै ग्रासरुट क्रिकेटलाई माथि उठाउने तथा बिभिन्न जिल्लामा क्रिकेट गतिबिधि संचालन गर्ने अध्यक्ष घोषले बताए । उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भए पनि महिला क्रिकेट प्रतियोगिता कम आयोजना भएको हुँदा निकट भबिष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए । उनले कार्यक्रममा सहभागी महिला तथा पुरुष प्रशिक्षार्थीलाई शुभकामना दिँदै क्रिकेटमा पनि भबिष्य रहेको र सबैले आफ्नो क्षेत्रबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए । 

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धी बहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेको यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोरर पाउने आशा ब्यक्त गरे । उनले यस्ता कार्यक्रम देशका बिभिन्न ठाउँमा आयोजना हुनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटबाट पाएको अनुभवहरु यो कार्यक्रममा साझा गर्न पाउदा गर्व लागेको उनले बताए । कार्यक्रममा आईसीसी प्यानल अम्पायर बुद्धी बहादुर प्रधान सहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन् । 

उदघाटन कार्यक्रममा प्रदेश नम्बर एक क्रिकेट संघका सदस्य टिकाराम पुरी, जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेल, जिल्ला समन्वय समिति कार्यालय इलामका सदस्य लगायत क्रिकेटसँग सम्बन्धित बिभिन्न ब्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।
 

प्रतिक्रिया