आसिफ, सोमपाल र आदिल चम्किँदा स्कटल्याण्डको ऐतिहासिक हार

काठमाडौं। नेपालले एकदिवसीय क्रिकेटमा पहिलो पल्ट बलियो स्कटल्याण्डलाई पराजित गरेको छ। 

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल ५ विकेटले विजयी भयो। नेपालको जितमा आसिफ शेख, सोमपाल कामी र आदिल अन्सारी हिरो सावित भए। आसिफले अर्धसतकीय इनिङ खेले भने सोमपाल र आदिलले ३–३ विकेट लिँदै विपक्षी स्कटल्याण्ड ब्याट्सम्यानको ढाड टेकाए। नेपालले टस जितेर घरेलु स्कटल्यान्ड ब्याटिङको निम्तो दिएको थियो। जसमा सोमपाल र आदिलको कसिलो बलिङका कारण घरेलु टोलीले नसोचेको झट्का बेहोर्नुपर्यो। 

ग्लास्गोको बाउन्सी पिचमा सोमपालले १० ओभरमा ४० रन खर्चिएर ३ विकेट र अन्सारीले १० ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ३ विकेट लिए। सोमपाल र करण केसीले सुरुदेखि नै आक्रामक बलिङ गरे। यी दुइ प्रारम्भिक बलरले स्लिपमा तीन फिल्डर राखेर स्कटिस ब्याट्सम्यानमाथि दबाब बनाउन सफल भए। जसका कारण घरेलु स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रन बनाएर अलआउट भयो। करणले १ विकेट लिए। 

कप्तान सन्दीप लामिछानेले पनि १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चिएर २ विकेट लिए। अर्को विकेट दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो। स्कटल्यान्डका लागि गाबिन मेनले सबैभन्दा बढी ६४ रन जोडे। उनी अविजित रहे। मेन र हम्जा ताहिरले अन्तिम विकेटका लागि १३.५ ओभरमा ४९ रनको साझेदारी गरेपछि स्कटिस टोलीको योगफल लम्बिएको थियो। यसअघि स्कटल्यान्डको पाँच विकेट १३ ओभरमा झरिसकेको थियो। त्यतिबेला स्कटल्यान्डको योगफल ४० रन मात्र थियो। नेपालका लागि कुशल भुर्तेलले ४ क्याच लिए भने विकेटकिपर आसिफ शेखले ३ क्याच पकडे। 

नेपालले विजयी लक्ष्य ५ विकेटको क्षतिमा २५‍.१ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान आसिफले ७१ रन अर्धसतकिय इनिङ खेले। उनले ६१ बलमा १० चौका र १ छक्का प्रहार गरे। अर्का प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल पनि २८ बलमा २७ रन जोडेर आउट भए। देव खनाल ४ रन,  दीपेन्द्रसिंह ३ रनमा आउट भए। आरिफ शेख पनि १ रनमै आउट भएका थिए। उपकप्तान रोहितकुमार पौडेलले अविजित रहँदै ३४ रन बनाए। उनले ३१ बलमा ५ चौका हिर्काएका थिए। 

बलिङमा स्कटल्यान्डका गाबिन मेनले ३ विकेट लिए।  यसअघि भएको पहिलो खेलमा नामिबियालाई स्कटल्याण्डले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालमाथि नामिबियाले जित हात पारेको थियो। 

७ देश सम्मिलित लिग–२ मा नेपाल जितसँगै पाँचौ स्थानमा उक्लिएको छ। नेपालले १८ खेलबाट १७ अंक जोडेको छ। ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग–२ अन्तर्गतका सबै खेल खेलिसकेको छ। २२ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्। छैठौं स्थानको नामिबियाले १६ खेलबाट १६ अंक जोडेको छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ। 

नेपालको खेल

नेपालविरूद्ध नामिबिया–  ३२ असार
नेपालविरूद्ध स्कटल्याण्ड–१ साउन

प्रतिक्रिया