रामायणको लोकप्रियताले नेपाली समाज शिक्षित भएको पवन चाम्लिङको ठम्याई

गान्तोक। सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले आदिकवि भानुभक्त आचार्यले तत्कालीन विकट परिस्थितिमा सम्पूर्ण लोकको कल्याणलाई ध्यानमा राखेर रामायणलाई नेपाली समाजमा परिचित गराउने महत् कार्य गरेको स्मरण गर्दै नेपाली भाषी समुदायलाई वधाई र शुभकामना दिएका छन्। आज भानुभक्तको २०८ औं जन्म जयन्तीको अवसरमा नेता चाम्लिङले शुभकामना सन्देश जारी गर्दै नेपाली समाजमा भानुभक्तको गहिरो प्रभाव रहेको, त्यसबेला शिक्षाको अभावमा पनि उनले रचेको रामायण पढ्नका लागि पनि मानिसहरूले शिक्षाको मार्ग समाएको चर्चा गर्दै अनि नेपाली समाज शिक्षित हुँदै गएको उल्लेख गरेका छन्।

सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक चाम्लिङले आफ्नो फेसबूक स्टाटसमा पोष्ट गरेको सन्देश यस्तो छ- 'नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्तीको अवसरमा सम्पूर्ण सिक्किमेली जनगणलगायत नेपाली भाषा, साहित्य, कला, संस्कृतिसित आवद्ध भएर यसको उन्नयन र विकासका लागि निरन्तर जुट्नुहुने सम्पूर्ण नेपाली भाषी जनसमुदायलाई हार्दिक बधाई एवम् शुभकामना अर्पण गर्दछु।

आदिकवि भानुभक्त आचार्यले तत्कालीन विकट परिस्थितिमा सम्पूर्ण लोकको कल्याणलाई ध्यानमा राखेर रामायणलाई नेपाली समाजमा परिचित गराउने महत् कार्य गरेका थिए। नेपाली समाजमा भानुभक्तको गहिरो प्रभाव रहेको छ। त्यसबेला शिक्षाको अभाव थियो, उनको रामायण पढ्नका लागि पनि मानिसहरूले शिक्षाको मार्ग समाए अनि नेपाली समाज शिक्षित हुँदै गयो।

भानुभक्तको रामायणले सम्पूर्ण नेपाली समाजमा एकता, भाइचारा र बन्धुत्वको पाठ पढाएको छ। भाषिक, सांस्कृति अनि साहित्यिक जागरूकता ल्याउने काम गरेको छ। यिनै कारणहरूले गर्दा आज पनि हामी उनको योगदानको कदर गर्दै उनलाई नमन गर्दछौं। हामीले उनको जीवनकथा र संघर्षबाट प्रेरणा लिनुपर्छ, उनको रामायणबाट हामीले हाम्रो समाजको समुन्नति, व्यक्तिगत अनुशासन तथा पारिवारिक प्रेमबारे शिक्षा गर्न सक्छौं। आज दुईसय वर्ष पछि उनको रामायण अझ बढि सान्दर्भिक बन्न पुगेको छ। यसलाई हामीले विभिन्न कोणबाट अध्ययन गरेका खण्डमा उनको महत्व अझ बढेर जानेछ।

अतः राज्यका विभिन्न स्थानमा आयोजन भइरहेका भानुजयन्ती कार्यक्रमहरूको सफलताका लागि पनि म हार्दिक शुभकामना दिँदछु।'

प्रतिक्रिया