पन्तले तोडे १७ वर्ष लामो धोनीको कीर्तिमान

लन्डन। ऋषभ पन्तले आफ्ना अग्रज महेन्द्र सिंह धोनीको १७ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन्। इङ्ल्याण्डविरूद्ध टेस्टमा ८९ बलमा सतक बनाउँदै उनी भारतको विकेटकिपरले छिटो सतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन्।

यसअघि यो कीर्तिमान धोनीको नाममा थियो। धोनीले सन् २००५ मा पाकिस्तानविरूद्ध ९३ बलमा सतक बनाएका थिए। पन्तले ८५ बलमा सतक बनाएको भए उनी टेस्टमा छिटो सतक बनाउने भारतीय ब्याट्सम्यान बन्ने थिए। कपिल देवले सबैभन्दा छिटो ८६ बलमा सतक बनाएका छन्। यसपछि मोहम्मद अजहररुद्धिनले ८७ बलमा सतक बनाएका थिए। 

पन्तको करिअरको पाँचौ सतक थियो। उनले रवीन्द्र जडेजासँग मिलेर छैटौं विकेटका लागि २ सय २२ रनको साझेदारी गरेका थिए। इङ्ल्याण्डविरूद्ध छैटौं विकेटका लागि यो सबैभन्दा ठूलो साझेदारी थियो। सन् २०१८ मा पन्त र केएल राहुलले नै छैटौं विकेटका लागि इङ्ल्याण्डविरूद्ध  ओभल टेस्टमा २ सय ४ रनको साझेदारी गरेका थिए। 

पन्त १ सय ११ बलमा १९ चौका र ४ छक्का लगाउँदै १ सय ४६ रनमा आउट भए। पहिलो दिन ७ विकेटको क्षतिमा भारतले ३ सय ३८ रन बनाउँदा जडेजा ८३ रन बनाएर क्रिजमा छन्। 

पन्तले करिब ३ घण्टा ब्याटिङ गर्ने क्रममा सुरुको अर्धसतक ५१ बलमा पुरा गरे। अर्को अर्धसतक ३८ बलमा पुरा गरे। उनले इङ्ल्याण्डका लागि ६ सय विकेट लिइसकेका जेम्स एन्डर्सनको बललाई रिभर स्विप हानेको दृश्य रोचक थियो।  
 

प्रतिक्रिया