३६ वर्षपछि भारतीय टेस्ट टोलीको कप्तानमा तीव्र बलर

दिल्ली। ३६ वर्षपछि भारतीय क्रिकेट टिमको कप्तानी तीव्र गतिका बलरले गर्ने भएका छन्। नियमित कप्तान रोहित शर्मा कोरोना संक्रमणका कारण इङ्ल्याण्डविरूद्ध शुक्रबारदेखि सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपमा भाग लिन नपाउने भएका छन्। उनको स्थानमा जसप्रित बुमराहलाई बर्मिङ्घम टेस्टको कप्तानी सुम्पिने भारतीय क्रिकेट बोर्डले जनाएको छ। कपिल देवपछि भारतीय टेस्ट टोलीको कप्तानी गर्न लागेको बुमराह तीव्र बलर हुन्। कपिलले सन् १९८६ को सेप्टेम्बरमा अन्तिम पल्ट टेस्ट टिमको कप्तानी गरेका थिए। 

बर्मिङ्घममा हुन लागेको टेस्ट गत वर्षको निरन्तरता हो। गत वर्ष ५ टेस्टको शृंखलामध्ये ४ पुरा भइसकेको अवस्थामा कोरोनाको महामारी बढेपछि स्थगित गरिएको थियो। त्यही स्थगित अन्तिम टेस्ट १ जुलाईदेखि सुरु हुन लागेको हो।  
कपिलको कप्तानीमा भारतले ३४ टेस्ट खेलेको थियो। जसमा ४ मा जित, ७ हार, १ टाई र २२ ड्र भएको थियो। 

रोहित लिस्टरशायरविरूद्ध ४ दिवसीय अभ्यास खेल खेल्ने क्रममा संक्रमित भएका थिए। यतिबेला उनले २५ रन बनाएका थिए। 
 

प्रतिक्रिया