अनुशाषन नै जितको प्रमुख आधार

दिल्ली। २ वर्ष अघिसम्म मध्य प्रदेशलाई अन्य टोलीले खासै महत्व दिँदैन्थे। तर, उसले यो सिजन भारतको चर्चित रणजी ट्रफी जितेर इतिहास बनाएको छ। उसको यो पहिलो रणजी विजय थियो, त्यो पनि ४१ पल्टको च्याम्पियन मुम्बईलाई पराजित गर्ने क्रममा। 

मध्य प्रदेशको जितमा प्रशिक्षक चन्द्रकान्त पण्डित ‘हिरो’ सावित भएका छन्। उनले यो २ वर्षे कार्यकालमा त्यस्तो के गरे, जसले मध्य प्रदेशलाई च्याम्पियन बनायो? यो सबैका लागि कौतुहलको विषय बनेको छ। 

मध्य प्रदेशले पहिलो रणजी ट्रफी जित्नुमा पण्डितको कडा स्वभाव र अनुशाषन प्रमुख कारण भएको भारतीय अखबारहरूले बताएका छन्। उनी कति कडा प्रशिक्षक थिए भन्ने उदाहरण मध्य प्रदेश सेमिफाइनल पुगेपछि थाहा भयो।  

पण्डितले सेमिफाइनल पुगेपछि आफ्नो कुनै खेलाडीलाई घर परिवारको फोनसमेत उठाउन दिएनन्। सबै खेलाडीलाई फोन बन्द गर्न लगाएका थिए। यस्तै, कुनै खेलाडीलाई मिडियासँग कुरा गर्न दिएनन्। 

एउटै कलमा खेलाडीहरू मैदानमा
chandra kanta1

प्रशिक्षक पण्डितले जितका लागि खेलाडीको अनुशाषनलाई सबैभन्दा ठूलो मुद्धा बनाएका थिए। खेलाडी अभ्यासमा आउने र जाने समय पनि उनी निर्धारण गर्थे। ड्रेस कोड र खेलाडीहरूको व्यवहारप्रति पनि उनको विशेष रुचि थियो। उनी यसलाई कडाईंका साथ लागु गर्थे। खेलाडीले कतिबेला के लुगा लगाउने, के खाने र कसरी बोल्ने उनी निर्धारण गर्थे। अनुशाषनमा नबस्ने खेलाडीलाई टिमबाट बाहिर राखिहाल्थे। प्रशिक्षकको एउटै फोन कलमा खेलाडीहरू अभ्यासका लागि मैदान पुगिसक्थे। 

एक पल्ट उनले राती १२ बजे खेलाडीलाई मैदानमा उत्रिन आदेश दिएका थिए। उनको यो व्यवहारलाई धेरैले सन्कीपन पनि भने। तर, उनी खेलाडीको ‘अल्र्टनेस’ हेर्न चाहन्थे। कुनै खेलाडी ट्रेनिङमा ढिलो भएको खण्डमा उसले पुरै सेसन छोड्नु पथ्र्यो। निश्चित समयमा खेलाडी ढिलो भएमा गाडीले छोडेर जान्थ्यो। खेलाडीले आफ्नै पैसा खर्चेर टिम ज्वाइन गर्नु पथ्र्यो। 

सिनियर कल्चर समाप्त गर्न ‘दाई’ शब्द प्रतिबन्ध

प्रशिक्षक पण्डितले जुनियर र सिनियर कल्चर समाप्त पार्न  ‘भैया’शब्दमाथि प्रतिबन्ध लगाएका थिए। सबैले एक–अर्काको नामले बोलाउनु पथ्र्यो। उनको तर्क थियो– यदी तपाईले कसैलाई इज्जत गर्नुहुन्छ भने, भित्री मनदेखि गर्नुहोस्। मुखले मात्र होइन।

खेलाडीलाई मानसिक रूपमा दह्रो बनाउन महुस्थित आर्मी इन्फेन्ट्री स्कुलमा खेलाडीलाई अभ्यस्त गराएका थिए। यसका लागि सेनासँग विशेष अनुमति लिएका थिए। उनले विशेषज्ञ बोलाएर होलकर रंगशालामा खेलाडीलाई ट्रेनिङसमेत गराएका थिए।  

युवाका खेलाडीका लागि छनोट समितिसँग झगडा 

प्रशिक्षक पण्डितले बलियो टिम बनाउन डिभिजनल खेल र ट्रायलमा सहभागी हुने खेलाडी नियाल्थे। जुन खेलाडीमा उनी प्रतिभा देख्थे, उसलाई क्याम्पमा बोलाइहाल्थे। उनी निकट मानिसहरू भन्छन्, यो सिजन एउटा खेलाडीको छनोटलाई लिएर उनी छनोट समितिसँग बहसमा उत्रिए। उनले ती खेलाडीलाई टोलीमा स्थान नदिने हो भने, आफूले राजीनामा दिने धम्कीसमेत दिएका थिए। 

हरेक खेलाडीको खेलमाथि लेखाजोखा

पण्डितले हरेक खेलाडीको डोजियर बनाएका थिए। जसमा उनीहरूको परफर्मेन्स, ट्रेनिङ सेड्युल सबै हुन्थ्यो। हरेक दिन टिम बैठक हुन्थ्यो। बैठकमा खेलाडीलाई उनीहरूको खेल्ने शैलीको विषयमा टिप्स दिइन्थ्यो। अघिल्लो दिन आफूले भनेको कुरामा उनी खेलाडीबाट मिहिनेत गराउँथे। 

मिक्स क्याम्पेन

पण्डितले दुई वर्षको अवधिमा ४ सय ५ दिन ट्रेनिङ क्याम्प गराए। वर्षामा पनि क्याम्पको आयोजना हुन्थ्यो। उनले रणजी टिमसँगै महिला टिम र उमेर समूहको खेलाडीहरूलाई पनि अभ्यास गराएका थिए। उनी प्रशिक्षक भएपछि मध्य प्रदेशको युथ–१९ क्रिकेटरले पनि रणजी टिमका खेलाडीसँग नेट्समा अभ्यास गर्न पाए।  

क्षमतावान खेलाडीको स्काउट

उनी खेलाडीले खेलेको आफै नियाल्थे। उमेर समूह र डिभिजनल खेल हेर्न समेत पुग्थे। कुनै क्षमतावान खेलाडी भेटे सिधै क्याम्पमा बोलाउँथे। 

खेलाडीका लागि ‘सिचुएसन’ बनाउँथे 

क्याम्पमा उनी खेलाडीलाई ‘सिचुएसन’ दिन्थे। उनी परिस्थितिअनुसार काम गर्न लगाउँथे। यसबेला खेलाडीको कानमा हेयरिङ हुन्थ्यो। प्रशिक्षक बाउन्ड्री बाहिर वाकीटकी बोकेर निर्देशन दिन्थे। 

भारतको पूर्व खेलाडीसमेत रहेका चन्द्रकान्त पण्डित वार्षिक डेढ करोड रुपैयाँ तलबमा दुई वर्षअघि मध्य प्रदेशको टिमसँग जोडिएका थिए। यसअघि सन् २०१५–१६ सिजनमा उनले मुम्बईको टिम सम्हालेका थिए। यतिबेला पनि उनले मुम्बईलाई च्याम्पियन बनाए। यस्तै, विदर्भले २०१७–१८, २०१८–१९ मा रणजी जित्दा उनी प्रशिक्षक थिए। 

पण्डितको गुरु पनि भारतीय क्रिकेटका चर्चित ब्याट्सम्यान सचिन तेन्दुलकरका गुरु रमाकान्त आचरेकर हुन्। भारतका लागि पण्डितले पाँच टेस्ट र ३६ एकदिवसीय खेलेका छन्। उनी सन् १९८७ को विश्व कपमा भारतीय टिममा समावेश थिए।

उनले टेस्टमा १ सय ७१ रन र एकदिवसीयमा २ सय ९० रन बनाएका थिए। घरेलु श्रृंखलामा उनले मुम्बईबाट १ सय ३८ फस्र्ट क्लास म्याच खेलेका छन्। जसमा ४८ दशमलव ५७ को औसतले ८ हजार २ सय ९ रन बनाएका थिए। उनले यस अवधिमा २२ सतक र ४२ अर्धसतक बनाएका छन्। उनको सर्वाधिक स्कोर थियो, २ सय २ रन। 
 

प्रतिक्रिया