निमोनिया भएपछि पाकिस्तानका पूर्वब्याट्सम्यान जहिर अस्पताल भर्ना

काठमाडौं– पाकिस्तानका पूर्वब्याट्सम्यान जहिर अब्बास लन्डनको एक निजी अस्पतालको आईसीयूमा भर्ना भएका छन्। ७४ वर्षीय अब्बासलाई दुबईबाट लन्डन जानेक्रममा निमोनिया भएको बताइएको छ।

अब्बास जुन १६ देखि लन्डनमा छन्। उनको अवस्था बिग्रिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो। यस महिनाको सुरूमा दुबईमा उनलाई कोरोना संक्रमण भएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनले लन्डनको उडान भरेका थिए। तर, लन्डन पुगेपछि उनको अवस्था फेरि बिग्रियो। 

अब्बासले सन् १९६९ मा न्यूजिल्यान्डविरूद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले ७२ टेस्टमा ५०६२ रन र ६२ एकदिवसीय खेलमा २५७२ रन बनाएका छन्। अब्बास आफ्नो जमानाका स्टाइलिस ब्याट्सम्यानमा गनिन्छन्। 

उनी एसियाका एकमात्र ब्याट्सम्यान हुन्, जसको नाममा १०० प्रथम श्रेणी शतक छ। ​जसका कारण उनलाई एसियाली ब्राडम्यान भनिन्छ। उनले एकदिवसीयमा ४७ भन्दा बढीको औसतमा रन बनाएका थिए। उनको स्ट्राइक रेट ८५ थियो, जुन त्यतिबेला लगभग बेजोड थियो।

आफ्नो करिअरको अन्त्यतिर उनले १४ टेस्टमा पाकिस्तानको कप्तानी गरे। कुल मिलाएर १९६५ देखि १९८७ सम्म उनको नाममा १०८ प्रथम श्रेणी शतक र १५८ अर्धशतक छ। आफ्नो करिअरको अन्त्यपछि उनी आईसीसी म्याच रेफ्री र आईसीसी अध्यक्ष पनि भएका थिए।

प्रतिक्रिया