श्रीलंकाले घरेलु मैदानमा तीन दशकपछि जित्यो अस्ट्रेलियाविरुद्धको ओडीआई सिरिज

काठमाडौं– श्रीलंका सन् १९९२ पछि पहिलो पटक अस्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय ओडीआई सिरिज उपाधि जित्न सफल भएको छ। मंगलबार राति भएको चौंथो ओडीआई खेलमा अस्ट्रेलियालाई चार रनले पराजित गर्दै  श्रीलंकाले एक खेल अगावै सिरिज ३–१ ले जितेको हो। 

जितका लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ५० ओभरमा २ सय ५४ रनमा अलआउट भयो। अस्ट्रेलियाका ओपनर डेविड वार्नरले सर्वाधिक ९९ रनको इनिङ्स खेले। उनले १ सय १२ बलमा १२ चौका प्रहार गरे। अस्ट्रेलियालाई जितका लागि अन्तिम ६ बलमा १९ रन चाहिएको थियो।

अन्तिम बलमा जितको लागि पाँच रन चाहिएको अवस्थामा एज लागेर म्याथ्यु कुहनेमान चरिथ असलंकाबाट क्याच भएसँगै श्रीलंकाले तीन दशकपछि घरेलु मैदानमा सिरिज एक खेल अगाडिनै जितेको हो।

प्याट कमिन्स ३५,ट्रविस हेड २७, आरोन फिन्च डक, मिचेल मार्श २६, एलेक्स केरी १९, कुहनेमान १५ र मार्नस लाबुसेन १४ रनमा आउट भए। श्रीलंकाका चामिका करुणारत्तने, धनन्जय डि सिल्भा र जेफ्री वान्डरसेले २/२ विकेट लिए।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ ओभरमा २ सय ५८ रनमा अलआउट भयो।

श्रीलंकाका चरिथ असलंकाले ११० रनको शतकीय इनिङ्स खेले। उनले १ सय ६ बलमा १० चौका र १ छक्का प्रहार गरे। असलंकाको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो।

चौंथो विकेटका लागि असलंका र धनन्जय डि सिल्भाले १ सय १ रनको शतकीय साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सिल्भा ६१ बलमा ७ चौकासहित ६० रनमा आउट भए। अस्ट्रेलियाका मिचेल मार्श, प्याट कमिन्स र म्याथ्यु कुहनेमानले २/२ विकेट लिए।

पहिलो खेलमा अस्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा २ विकेटले विजयी भएको थियो। श्रीलंका दोस्रो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा २६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ।

प्रतिक्रिया