एसीसी महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौं– नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो। 

जितको लागि १०८ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन ८२ मात्रै बनाउन सक्यो। कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक ३१ रन बनाइन्। उनले ४० बलमा २ चौका प्रहार गरेकी थिइन्।

मरिम्मा हैदर १४ बलमा १ चौकासहित १६ रनमा अविजित रहिन्। यता, कप्तान अम्ना तारिकले ३९ बलमा १४ रन बनाइन्। कुवेतका अन्य ब्याटरले भने दोहोरो अंकमा रन छुन सकेनन्।

नेपालका लागि सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक २ विकेट लिइन्। यता, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १/१ विकेट लिइन्।

त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो।  

नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक ३४ रन जोड्दै अविजित रहिन्। उनले २७ बलमा ४ चौका प्रहार गरिन्। यस्तै, इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन्।

उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। नेपालकी ओपनर ज्योति पाण्डेले २१ बलमा १ चौकासहित १५ रन बनाइन्। यता, बिन्दु रावलले ११, सीता रानामगरले ५ र काजल श्रेष्ठले ५ रन बनाइन्।

कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। मर्याम ओमर र खदिजा खालिलको नाममा १/१ विकेट रह्यो। 

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो। लगातार दोस्रो जितसहित नेपालले सेमिफाइनको पुग्ने सम्भावना बलियो बनाएको छ। 

यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्। जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन्। 

समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्। यता, समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्।

प्रतिक्रिया