एसीसी महिला टी–२० च्याम्पियनसिप : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं– नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानविरुद्ध ब्याटिङ गर्ने भएको छ।

यूकेएम एसडी क्रिकेट ओभलमा नेपालका कप्तान रुविना क्षेत्री बेलबासे टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।

समूह बी मा रहेको नेपाल कमजोर भुटानमाथि सानदार जितका साथ विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रने छ। समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्। 

समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। शीर्ष २/२ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्। जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन्। नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो।

नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले आफ्नो लक्ष्य सबैलाई जित्ने रहेको बताएका छन्। ‘हामीले सबै खेल जित्ने नै हो। समूहमा शीर्षस्थानमा रहेपछि हामीलाई पनि सहज हुन्छ। प्रयास छनोट हुने हो’, उनले भनेका थिए।

नेपाली महिला टोली टी–२० आई विश्व वरीयतामा १७औं र भुटान ४७औं स्थानमा छ। नेपाल र भुटानबीच महिला टी२० आईमा एक खेल भएको छ। गत पुसमा आईसीसी वुमन्स टी२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले हराएको थियो।
 

प्रतिक्रिया