एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एमालेले बजेटमा करको दर परिवर्तन गर्दा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषय आपत्तिजनक भएको बताउँदै राजीनामा माग गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद सुरेन्द्र पाण्डेले पत्रपत्रिकामा राजश्वको दर तलमाथि गर्न अपरिचित व्यक्तिलाई राखेर बजेट बनाएकोप्रति प्रश्न उठ्दा समेत अर्थमन्त्रीले संसद्मा जानकारी नगराउनु आपत्तिजनक भएको बताएका हुन् । उनले अर्थमन्त्री शर्मामाथि गम्भीर विषय उठेकाले संसदमा जानकारी गराउनुपर्ने बताए ।

पाण्डेले हिजोको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका तर्फबाट सांसद योगेश भट्टराईले अर्थमन्त्रीको विषयमा प्रश्न उठाइसकेको बताउँदै जवाफ किन नआएको भन्दै प्रश्न गरे । उनले भने ,‘गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ । करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रको सुरक्षा स्वार्थको विषय हो । संसद्ले यसबारेमा कदम चाल्नुपर्छ । यसको जवाफ हामी चाहन्छौं । मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन ।’

पाण्डेले पनि यस्तो गम्भीर प्रश्नमा प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्ने बताए । एमालेले गम्भीर विषयमा प्रष्ट नभएसम्म सदनको कारबाही अघि नबढाउन सभामुखलाई आग्रह गरेको छ ।

शर्माले अर्थ मन्त्रालयकै भन्सार विभागबाट नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएका समाचार सार्वजनिक भएको छ । निश्चित व्यापारिक घरानालाई फाइदा पुर्याउनका लागि बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गरेको आरोप अर्थमन्त्रीलाई लागेको छ ।

प्रतिक्रिया