अर्थमन्त्रीज्यू, विवादमा आइसक्नु भयो, तत्काल राजीनामा दिनुहोस्ः सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले बजेट निर्माण प्रकियामा अनाधिकृत व्यक्तिको भूमिकाबारे गम्भीर आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रयोग गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले अर्थमन्त्री शर्माको राजीनामा माग गरे। भट्टराईले भने,’ अर्थमन्त्रीज्यू विवादमा आइसक्नु भयो, तत्काल राजीनामा दिनुहोस्।’

सांसद भट्टराईले बजेटमा भन्सार र राजश्वका दरहरु कसरी परिवर्तन गरिए भन्ने विषय समाचार पढेर थाहा पाएको बताए। जबरजस्ती अर्थमन्त्रीको निर्देशनमा मध्यरातमा राजश्व र भन्सारका दरहरु तलमाथि गर्न खोजिए भन्दै उनले आश्चर्य व्यक्त गरे ।

उनले भने,’बजेट निर्माण प्रक्रियामा बजेट शाखाकै कुनै पनि व्यक्तिलाई प्रवेश गर्न दिँदैन, सांसदसमेत प्रवेश गर्न पनि पाउँदैन । यस्ता काम हुन्छन् भने यो राष्ट्रका नाममा खाएको सपथको खिलाफ हो। यो जनघात मात्र होइन यो राष्ट्रघात नै हो।’

सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया