आफैंविरुद्धको लडाइँ जितेर फर्किएका हार्दिक पाण्ड्या

काठमाडौं– २०२१ को टी–२० विश्वकपमा पाकिस्तानविरूद्धको महत्त्वपूर्ण खेलमा हार्दिक पाण्ड्याले बलिङ गरेनन्, भारत १० विकेटले पराजित भयो। 

अर्को खेलमा पनि हार्दिकले बलिङमार्फत् योगदान दिन सकेनन् र लगातार दुई पराजयपछि भारतीय टोली सेमिफाइनलमा नपुग्दै समूह चरणबाट बाहिरियो।

विश्वकपमा भारतको लाजमर्दो प्रदर्शनका लागि हार्दिकलाई दोष लगाइयो। समूह चरणबाट बाहिरिएपछि भारतीय टोलीको चर्को आलोचना भयो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि हार्दिकलाई नै जिम्मेवार ठहर्‍याइयो र टोलीबाट निकाल्यो। 

छनोटकर्ताहरूले त्यसबेला भनेका थिए, ‘जबसम्म हार्दिकले आफ्नो बलिङ र ब्याटिङबाट फिटनेस प्रमाणित गर्दैनन् तबसम्म उनलाई भारतीय टोलीमा मौका दिइने छैन।’

त्यसपछि वेंकटेश अय्यरलाई भारतीय टोलीमा बारम्बार अवसर दिइयो। अय्यरले पनि केही खेलमा आफ्नो ब्याटिङबाट प्रभावित पारे। त्यसपछि मुम्बई इन्डियन्सले पनि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनअघि हार्दिकलाई रिटेन गरेन। तर, आईपीएलको नवप्रवेशी टोली गुजरात टाइटन्सले हार्दिकलाई विश्वास गर्‍यो र कप्तानी जिम्मेवारी सुम्पियो।

हार्दिकले यस प्रतियोगितामा बल र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई च्याम्पियन बनाए। उनले ४८७ रन बनाए र ८ विकेट आफ्नो नाममा लिए। आईपीएल २०२२ सकिनुअघि नै उनी भारतीय टोलीमा फर्किएका थिए। 

भारतीय टोलीमा हार्दिकका लागि पुनरागमन गर्न त्यति सजिलो भने थिएन। न त उनलाई झट्ट बोलाइएकै हो। उनले टोलीमा पुनरागमन गर्न धेरै त्याग र मिहिनेत गर्नुपर्‍यो। जुन कुरा सायद कमैलाई थाहा होला।

एक खेलकुद च्यानलसँग कुरा गर्दै हार्दिकले भने, ‘भावनात्मक रूपमा म पूर्णतया ठीक थिएँ। म आफ्नो लागि खुसी थिएँ। यो मेरो विरूद्धको लडाइँको थियो। पक्कै पनि आईपीएल जित्नु राम्रो कुरा हो र यो महत्त्वपूर्ण थियो। प्लेअफमा धेरै दर्शकहरूले ममाथि शंका गरे। धेरैले मलाई प्रतियोगिता सुरू हुनुअघि नै टोलीबाट बाहिर निकाल्नुपर्ने धारण राखेका थिए। यो मेरो लागि जवाफ दिन सजिलो थिएन, तर म गर्व गर्छु, मैले सफलता पाए।’

उनका अनुसार भारतीय टोलीबाट निकालिएपछि उनी बिहान पाँच बजे उठेर अभ्यास गर्थे। फेरि साँझ चार बजेदेखि प्रशिक्षण लिनुअघि पर्याप्त आराम गर्थे। चार महिनासम्म उनी हरेक रात साढे ९ बजेसम्म सुत्ने गर्थे। उनले धेरै त्याग गरे, जुन आईपीएलमा गुजरातलाई उपाधि दिलाउँदासम्ममा स्पष्ट रूपमा देखियो। 

क्रिकेटरको हैसियतमा आफ्नै नतिजाबाट आफूलाई नै हेर्न पाउनु उनको लागि अझ रमाइलो थियो। भारतीय टोलीमा पुनरागमनको बारेमा कुरा गर्दै उनले अहिले आफू निकै उत्साहित रहेको बताए। 

‘देशका लागि खेल्नु सधैं विशेष रह्यो र यति लामो समयपछि फर्कन पाउनु झनै रमाइलो छ,’ उनले भने। दक्षिण अफ्रिकासँगको पहिलो टी–२० खेलमा भारतले पराजय बेहोरेपनि हार्दिकले १२ बलमा ३१ रनको आक्रमक इनिङ्स खेले। 

उनको उक्त इनिङ्सको मद्दतमा भारतीय टोलीको स्कोर २०० भन्दा माथि पुगेको थियो। अरूण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो। 

तर, जितका लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। डेविड मिलर र भान डर डुसेनले १३१ रन शतकीय साझेदारी गर्दै दक्षिण अफ्रिकालाई ७ विकेटको जित दिलाए।

प्रतिक्रिया