'देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको ?'

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउन माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे विभिन्न शंकाउपशंका उब्जिएको भन्दै जानकारी गराउन माग गरेका हुन् ।

सांसद ज्ञवालीले देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो त्यसबारे स्पष्ट हुनुपर्ने बताए । दुई दिनअघि सदनमा सत्ता घटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाइ राख्नु सामान्य नभएको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको बताए ।

उनले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापन परराष्ट्र सम्बन्धसँग नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको भन्दै आपत्ति जनाए । उनले यस्ता महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेको बताए।

उनले भने,‘प्रतिपक्ष त बेखबर नै छ। प्रतिपक्षीलाई जानकारी दिने, छलफल गर्ने लगायतका बारेमा जानकारी छैन। अमेरिकाको भ्रमण के हो भन्ने विषयमा हामीलाई जानकारी नै छैन। त्यहाँ केही समझदारी हुँदै छन् कि के हो ? बाहिर आइरहेका जस्तो कुरा हो भने प्रधानमन्त्री आएर सदनमा जानकारी दिनुपर्छ।’

प्रतिक्रिया