विश्वकप लिग–२ : अन्तिम बलमा राहुल रन आउट हुँदा नेपाल र अमेरिकाबीचको खेल ‘टाई’

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा ‘टाई’ भएको छ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएपछि खेल ‘टाई’ भएको हो। 

अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो। तर, अन्तिम बलमा राहुल जरिवाला रन आउट हुँदा खेल नाटकीय रुपमा खेल ‘टाई’ भएको हो।

अमेरिकाका स्टिभन टेलरले सर्वाधिक ११४ रनको शतकीय इनिङ्स खेले। अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा उनले १२३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। उनी ओडीआईमा शतक प्रहार गर्ने चौंथो अमेरिकी खेलाडी हुन्। 

यता, कप्तान मोनांक पटेल ११५ बलमा ४ चौका र २ छक्कासहित ८५ रनमा आउट भए। दोस्रो विकेटका लागि पटेल र टेलरले २ सय रनको शतकीय साझेदारी गर्दै अमेरिकालाई जिततर्फ अग्रसर गराएका थिए।

यता, आरोन जोन्स २६, सुशान्त मोदिनी १७ र राहुल जरिवाला १० रनमा आउट भए। नेपालका लागि ओडीआई डेब्यू खेल खेलेका आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। 

कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए। त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २७४ रन बनाएको थियो।

नेपालका रोहित पौडेलले सर्वाधिक ६२ रन बनाए। उनले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रोहितको ओडीआई करिअरको पाँचौं अर्धशतक हो।विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा क्याच आउट भए। 

चोटबाट फर्किएका दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए। ग्रोइन चोटबाट फर्किएका ओपनर कुशल भुर्तेल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए। दोस्रो विकेटका लागि देव खनाल र आसिफले ६२ रनको साझेदारी गरेका थिए।

देव खनाल ६९ बलमा ३ चौकासहित ५४ रनमा क्याच आउट भए। देवको ओडीआई करिअरको दोस्रो अर्धशतक हो। आदिल अन्सारी २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भए। आरिफ शेख ८ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए। सन्दीप लामिछाने १० रनमा आउट भए।

अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए। सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए। निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १/१ विकेट रह्यो।

प्रतिक्रिया