तीन खेलाडीको अर्धशतक, नेपालद्वारा अमेरिकालाई २ सय ७५ रनको लक्ष्य

काठमाडौं– तीन खेलाडीको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा अमेरिकालाई २ सय ७५ रनको लक्ष्य दिएको छ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २७४ रनमा अलआउट भयो। नेपालका रोहित पौडेलले सर्वाधिक ६२ रन बनाए। उनले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रोहितको ओडीआई करिअरको पाँचौं अर्धशतक हो।

विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा क्याच आउट भए। 

चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए। ग्रोइन चोटबाट फर्किएका ओपनर कुशल भुर्तेल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए। दोस्रो विकेटका लागि देव खनाल र आसिफले ६२ रनको साझेदारी गरेका थिए।

देव खनाल ६९ बलमा ३ चौकासहित ५४ रनमा क्याच आउट भए। देवको ओडीआई करिअरको दोस्रो अर्धशतक हो। आदिल अन्सारी २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भए। आरिफ शेख ८ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए। सन्दीप लामिछाने १० रनमा आउट भए।

अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए। सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए। निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १/१ विकेट रह्यो।

प्रतिक्रिया