विश्व युथ–१९ महिला टी–२० खेल्ने नेपालकाे सपना तुहियाे, थाइल्याण्डसँग पराजित

दक्षिण अफ्रिकामा पहिलो पटक हुन लागेको युथ–१९ महिला टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै भएको छ। छनोट प्रतियोगिताअन्तर्गत मंगलबार बलियो प्रतिद्वन्द्वी थाइल्यान्डविरूद्धको खेलमा नेपाल ४९ रनले पराजित भएसँगै विश्व कप खेल्ने सपना चकनाचुर भएको हो। विश्व कप आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुँदैछ। 

थाइल्यान्डले दिएको ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटियो।

नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालकी सृष्टी जैशी सर्वाधिक ७ रनमा अविजित रहिन्। 

ओपनर साना प्रविण ६, अनु कडायत ५, अन्जली विश्वकर्मा ३, कृतिका मरासिनी ३, मनिषाकुमारी उपाध्यय ३, रञ्जु श्रेष्ठ १ र स्नेहा मिश्रा १ रनमा आउट भइन्। यता, सञ्जु राजवंशी, आश्मा पुलामी मगर र मनिषा राणाले खाता खोल्न सकेनन्।

थाइल्यान्डकी नथिता बुनसुखमले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिइन्।

त्यसअघि यूकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो।

थाइल्यान्डको लागि थिपाच्चा पुथावाङले सर्वाधिक २० रन बनाइन्। ओपनर बंथिदा लीफथानाले २२ बलमा १ चौकासहित १९ रन जोडिन्। 

यता, सुवनाना खियाओटो २४ बलमा १६ रनमा आउट भइन्। नेपालकी स्पिनर मनिषा उपाध्य र कप्तान कृतिका मरासिनीले २र२ विकेट लिइन्। स्नेहा महराको नाममा १ विकेट रह्यो।

नेपाललाई शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने युथ– १९ महिला टि–२० विश्वकप खेल्न अंक गणीतिय झिनो आशा कायमै राख्न आज थाइल्यान्डविरुद्ध अविश्वसनिय फराकिलो जित निकाल्नुपर्ने थियो। 

आजको खेलमा पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो। 

नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको थियो।

६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टी–२० विश्वकप खेल्न पाउनेछन्।

प्रतिक्रिया