मेडिकल साइन्सको अर्को चमत्कारः ‘थ्रिडी’ प्रिन्टिङ प्रविधिबाट कान उपहार

वासिङ्टन। किन अमेरिकालाई मेडिकल साइन्सको अगुवा देश मानिन्छ? यसको उत्तर हालै यहाँ भएको अर्को एक उदाहरणीय कामले प्रमाणित गरेको छ। अमेरिकामा एउटी युवतीलाई ‘थ्रिडी’ प्रिन्टिङको मद्धतले चिकित्सले नयाँ कान उपहार दिएका छन्। ती युवतीको कान मिलेको थिएन। चिकित्सकले त्यो कानलाई मिलाएर नयाँ कान बनाइदिएका छन्। ‘थ्रिडी’ प्रिन्टिङबाट कान प्रिन्ट गरेर नयाँ बनाइएको विश्वको यो पहिलो उदाहरणीय काम हो। 

चिकित्सकले गत मार्चमा सर्जरी गरेका थिए। अब ती युवतीको कानले शरीरको अन्य भागसँग मिलेर काम गर्न सुरु गरेको छ। त्यसैले यो घटनालाई कुनै चमत्कारभन्दा कम मानिएको छैन। 

आर्टिफिसियल तथा कुनै व्यक्तिको कान सर्जरी गरेर अर्को व्यक्तिको कानमा लगाउने काम पहिले पनि हुने गर्दथ्यो। तर, कानको ‘थ्रिडी’ प्रिन्टिङ भएको पहिलो घटना हो। विशेषत यो सल्यक्रियामा सबैभन्दा ठूलो कुरा कानका लागि आवश्यक सेल युवतीकै शरीरबाट उपलब्ध गराइएको हो। यो प्रविधिमा कान सक्रिय हुने सम्भावना सहज हुन्छ। किनभने अन्य सल्यक्रिया जस्तै डोनरबाट प्राप्त कान व्यक्तिको शरीरले आफ्नो नमान्न पनि सक्छ। 

अमेरिकामा बसोबास गर्ने २० वर्षीय युवतीको कान सानैदेखि टेढो थियो। यस कारण उनलाई राम्रोसँग सुन्न गाह्रो पर्दथ्यो। यस्तो अवस्थामा परिवारका सदस्यले चिकित्सकसँग सल्लाह मागेका थिए। 

न्युयोर्कको थ्रिडीबायो थेराप्युटिक्स नाम गरेको कम्पनीले यसको सफल सल्यक्रिया गरेको हो। युवतीको कान सामान्यभन्दा अलि सानो छ। तर, विस्तारै यसले आफ्नो आकार ग्रहण गर्ने र शरीरसँग सामञ्जस्य मिलाउने चिकित्सकले बताएका छन्। 

‘थ्रिडी’ प्रिन्टिङ प्रविधि विस्तारै सामान्य बन्दै गइरहेको छ। जसको सहयोगले कुनै पनि कुरा जस्ताको त्यस्तै नक्कल गरेर तैयार पार्न सकिन्छ। अहिलेसम्म ‘थ्रिडी’ प्रिन्टिङ मेटल र प्लास्टिकको सामानमा मात्र प्रयोग हुँदै आइरहेको थियो। 

तर, चिकित्सकहरूले यसको प्रयोग मानव अंग प्रिन्ट गर्न पनि सुरु गरेका छन्। यो प्रविधि सफल भएको खण्डमा सुस्त मनस्थितिका व्यक्तिका लागि वरदान सावित हुने आशा गरिएको छ। किनभने यो प्रविधिमा शरीरको अन्य सेल प्रयोग गर्दै नयाँ अंग निर्माण गर्न सहज हुनेछ। ‘थ्रिडी’ प्रिन्टेड कान लगाउने कम्पनीले अहिलेसम्म आफ्नो प्रविधिलाई गोप्य राखेको छ। कम्पनीले भनेको छ, उसले सबै मापदण्ड पुरा गरेको छ। 
 

प्रतिक्रिया