पर्दाभित्रको राजनीति

 के हो रामचन्द्र फकाउने देउवा फर्मूला?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा प्रतिनिधिसभाको निर्वाचन हुने स्पष्ट संकेत गरिदिएका छन्। निर्वाचनको मिति मंसीर कि फागुन भन्ने बिषयको टुंगो मात्र लाग्न बाँकी रहेको प्रधानमन्त्रीको भनाई छ।

‘हाफ म्याराथन’ को उद्घाटन गरेका प्रधानमन्त्री देउवाले राजनीतिमा उछाल्न थालिएको अन्योलको पूरा जवाफ दिएका छन्।

प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी जवाफ आएपछि भावी प्रधानमन्त्रीका दुइ आकांक्षीको सपनामा तुषारो परेको छ। पाँच दलीय गठबन्धनका ‘वरिष्ठ नेता’ पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका ‘वरिष्ठ नेता’ रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीका दावेदार जस्ता देखिन्छन्। बजार चर्चालाई अन्यथा नमान्ने हो भने प्रचण्ड आफ्नै नेतृत्वमा प्रतिनिधिसभाको निर्वाचन गराउन चाहन्छन्। पौडेल भने ‘पालो आएको’ ठानेर प्रधानमन्त्री पदको दावेदारका रुपमा आफ्नो पक्षमा प्रचार गराईरहेका छन्। एकपटक प्रतिनिधिसभाको सभामुख रहीसकेका पौडेललाई निर्वाचन क्षेत्रका मतदाताबाट दोस्रो स्थानको मत पाएको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्न योग्य हुँदैन भन्ने अवगत नै हुनुपर्ने हो भनेर आशा गर्न सकिन्छ। राजनीतिमा आफ्नै जोर नचलेका बेला च्याँखे राजनीति गर्ने चलन नेपालमा नौलो भने होइन। नेता पौडेलले चैं यो चल्तीको परम्परालाई निरन्तरता दिन नपाउने भन्ने पनि छैन।

तर आफ्नै सहकर्मी सर्बोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको झल्झली देखेका नेता पौडेलले प्रतिनिधिसभाको सदस्यता अनिवार्य होइन रहेछ भनी ठानेका भए त्यसलाई पनि अन्यथा मान्न चैं मिल्दैन।

जहाँसम्म संवैधानिक प्रावधानको प्रश्न छ, संविधानको व्याख्या गर्ने एकमात्र संवैधानिक अंगले नै प्रधानमन्त्री तोकिदिएपछि संविधानलाई पनि के को टाउको दुखाई भन्ने टिकाटिप्पणी पनि नभएको होइन। तनहुँका मतदाताले पहिलो मत नदिँदैमा नेता पौडेलले प्रधानमन्त्री पदका लागि अठारौं पटक प्रयाश गर्न पाउनु हुँदैन भन्न कसैलाई अधिकार छैन।

राजनीतिले कसको पाखुरा समाउँछ प्रधानमन्त्री त उही हुन्छ। आजको राजनीतिको  यथार्थ भने यही हो। रामशाहपथले जबसम्म देउवाको पाखुरा छोड्दैन तबसम्म उनले प्रधानमन्त्री खान्न भनेर उम्कनै पाउँदैनन्। रामशाहपथको पाखुरा कसले समाएको छ भनेर चियोचर्चो गर्नु दूरदर्शी राजनीतिज्ञका लागि स्वास्थ्यवध्र्दक हुँदैन। तसर्थ अहिलेलाई यत्ति नै काफी छ जजसले रहर गरेपनि प्रतिनिधिसभाको निर्वाचन गराउन आफैं प्रधानमन्त्री पदमा रहिरहन नेपाली कांग्रेसका सभापति देउवा वाध्य छन्। यति कुरा बुझेपछि न गठबन्धन भत्काउन आवश्यक देखिने छ नत प्रधानमन्त्री बन्न दौडधुप नै।

प्रधानमन्त्री देउवाले म्याराथन रेस मात्र उद्घाटन गरेका छैनन् उनले आफ्नो नेतृत्व क्षमतामाथि प्रश्न उठाईरहेका पक्षहरुलाई जवाफ पनि दिएका छन्। ‘एक नम्बर’ को सञ्चार गृह प्रवेश गरेर प्रधानमन्त्री देउवाले ‘बुझ्नेलाई यो कुरो गहिरो छ, नबुझ्नेलाई घर छेउमै पहिरो छ’ भनिसकेका छन्। उनले सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर कि फागुनमा गर्ने भन्ने विवाद चलिरहेको भएपनि आफू कात्तिक वा मंसिरभित्रै निर्वाचन गराउन तयार रहेको जस्तो बुझाउन खोजेका छन्। तर प्रधानमन्त्रीको यो भनाई ठीक उल्टोगरी बुझ्नु उपयुक्त हुने जानकार सूत्रहरु बताउँछन्।

प्रधानमन्त्री देउवा सकेसम्म फागुनमा मात्र प्रतिनिधिसभाको निर्वाचन गराउन चाहन्छन्। स्थानीय निर्वाचनमा थुम्थुम्याएर राखेका कार्यकर्तामध्ये धेरैलाई प्रदेश र प्रतिनिधिसभामा मिलाउन पर्ने भएकाले उनी त्यसका लागि समय लिन चाहन्छन्। प्रचण्डको हुटहुटी र धम्की पचाउँदै गएका देउवा आफ्नै पार्टीका साथी रामचन्द्र पौडेल कसरी फकिन्छन् भनेर अरु कोहीभन्दा ज्यादा जान्दछन्। पौडेललाई सजिलोगरी फकाउन देउवासँग जुन फर्मूला छ, त्यो फर्मूला पटक पटक फकिँदै आएका स्वयं पौडेललाई पनि पत्तो नभएको बताईन्छ।

प्रधानमन्त्री देउवाले फागुनमा निर्वाचन गराउन वातावरण बनाउन थालिसकेका छन्। म्याराथन उद्घाटनपछिको भेटघाटको संकेत बुझे थप राजनीति प्रष्ट छ। उनले स्थानीय निर्वाचनको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा निर्वाचन गर्नुपर्ने धारणा राखिरहेका छन् भनेर आफ्नो प्रतिरक्षा गरिसकेका छन्। 

‘हामी सरसल्लाह गर्दैछौं। कात्तिकमै गरे पनि हुन्छ। ढिलो गर्यो भने झन् विवाद हुन्छ।   गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ,’ आज बिहान प्रधानमन्त्री देउवाले भनेका छन्।

अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि देउवाले दावी गरेका छन्। ‘जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो। यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो। मलाई विश्वास छ यो गठबन्धन रहन्छ,’ प्रधानमन्त्रीले भनेका छन्।

देउवाले जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता नसकिएको पनि बताए। देउवाका अनुसार, जे कारणले गठबन्धन बनेको हो। त्यो कारण सकिएको छैन। तर त्यो कारण के हो भनेर उनले प्रष्ट चैं पारेनन्।

गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै देउवाले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए। निर्वाचनअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट रहेको तर अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाको दावी छ।

‘पार्टीभित्र त निर्णय भएपछि भइहाल्छ नि! डेमोक्रेटिक पार्टी हो आ–आफ्नो विचार त भइहाल्छ नि। हाम्रो पार्टीमा त्यस्तो समस्या छैन,’ प्रधानमन्त्री देउवाले भने।
 

प्रतिक्रिया