पर्दाभित्रको राजनीति

किन सुरु भयो गठबन्धनभित्र छट्पटी?

काठमाडौं। पाँचदलीय सत्ता गठबन्धनभित्र छट्पटी सुरु भएको छ। गठबन्धनभित्र मात्र होइन गठबन्धनमा बाँधिएका दलहरुमा समेत आन्तरिक छट्पटी घनिभूत हुँदै गएको छ। यो छट्पटीको कारण अरु कुनै नयाँ बिषयमा भैरहेको छैन, सत्ताको बागडोर हत्याउने र मन्त्री बन्ने मात्र यसको मूल कारण देखिएको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिले गठबन्धनभित्र भूसको आगो दन्किरहेको छ भनेर बुझ्न पर्याप्त आधार दिएको छ। प्रचण्डले धम्कीकै भाषामा गठबन्धनको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसलाई ‘एमालेलाई जसरी ठेगान लगाईदिने’ चेतावनी दिएका छन्। उनको यो भनाई नै राजनीतिमा नयाँ तरंग उत्पन्न गर्न पर्याप्त भएको छ। 

नेकपा एकिकृत समाजवादीका नेता माधवकुमार नेपाल आफ्ना नेतालाई आलोपालो मन्त्री बनाईदिनुपर्ने मागको दवावमा परेका छन्। उनीसँग पार्टीको आन्तरिक बैठकमा यस्तो दवावपूर्ण प्रस्ताव राखिसकिएको छ। त्यसैगरी गठबन्धनका सदस्य दलहरुमा यस्तै सत्तारोहणको रोग सल्किएको बुझ्न सकिन्छ। 

स्थानीय निकायको निर्वाचन सकिएर नयाँ पदाधिकारीले पदवहाली गरिसकेका छन्। निर्वाचनमा कसले कुन स्थान पाए भन्ने कुरा सर्वविदितै छ, यो नयाँ बिषय रहेन। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुले यथायोग्य स्थान पाएका छन्। प्रमुख दलका नेताका लागि नभैनहुने महानगर, उपमहानगर र पालिकाहरुमा उनका प्रियपात्र चुनिएकै छन्। भागबण्डा अनुसार शतप्रतिशत नतिजा हात नपरेपनि सालाखाला स्थानीय निर्वाचनको परिणामले प्रमुख नेताहरु नाफामै रहेको देखिन्छ। 

राजधानी महानगर काठमाडौंको नतिजाले शीर्ष नेताहरुको भ्रम तोडेको छ। काठमाडौंले राजनीतिको अंकगणितमा ठूलो फेरबदल गरिदिएको छ। ठूलो मतदाता संख्या रहेको महानगरमा कसरी यस्तो नतिजा आउन सक्यो भनेर राजनीतिक पण्डितहरु औंला भाँचि नै रहेका देखिन्छन् तर उनीहरु हात्ती छामिरहेका पनि हुनसक्छन्। राजधानी महानगरका मतदाताले रोजेको बाटो र छनौट राष्ट्रिय राजनीतिको नयाँ अध्याय हो भनेर बुझे अन्यथा हुने छैन। स्वतन्त्र उम्मेदवारहरुको बिजयले पनि सत्ता गठबन्धनभित्र छट्पटी बढाएको देखिन्छ। यसमा एकले अर्कालाई शंकाको नजरले हेरिरहेको बुझिन्छ। 

यसैवीच माओवादी अध्यक्ष प्रचण्डले ‘ठेगान लगाईदिने’ भनेर नेपाली कांग्रेसलाई तर्साउन खोजेपछि भने आगामी संसदीय निर्वाचनसम्म गठबन्धनलाई जोगाएर लैजाने भन्ने उनकै भनाईको खण्डन गरेको छ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डको भनाईमा कुनै प्रतिक्रिया जनाएका छैनन्। नेता रामचन्द्र पौडेलले स्वभाव अनुसार सामाजीक सञ्जालमा छोटो प्रतिक्रिया जनाएका छन्। गठबन्धनका पाँच दलको बैठकले सहकार्यलाई निरन्तरता दिने भनी गरेको निर्णय सार्वजनिक भएलगत्तै किन प्रचण्डले विवादाष्पद अभिव्यक्ति दिए भनेर यतिबेला चर्चा चलिरहेको छ।

प्रधानमन्त्री पदको मोह?

भनिन्छ, प्रचण्ड आगामी संसदीय निर्वाचन आफू प्रधानमन्त्रीको कुर्सिमा बसेर गराउन चाहन्छन्। देउवाले स्थानीय निर्वाचन गराईसकेका छन् भने अब उनको पालो हो भन्ने प्रचण्डको व्याख्या छ। अघिल्लो संसदीय निर्वाचन प्रचण्ड र देउवाले आलोपालो प्रधानमन्त्री पदमा बसेर गराएका थिए। गठबन्धन गरेर एमालेलाई स्थानीय निर्वाचनमा साईजमा ल्याउन सकेकामा प्रचण्ड प्रशन्न भएको उनका निकटस्थ सूत्रहरु बताउँछन्। अब आफू प्रधानमन्त्री बनेर संसदीय निर्वाचन गर्न पाए एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थप राजनीतिक सन्देश दिन पाईन्थ्यो भन्ने प्रचण्डको महत्वाकांक्षी योजना रहेको बताईन्छ।

सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभामा बोल्दा प्रचण्डले एमालेले एक्लै कहिले पनि सरकार नबनाएको चर्चा गर्दै अध्यक्ष ओलीलाई आफूले समर्थन गरेर प्रधानमन्त्री बन्ने अवसर जुटाईदिएको बताएका थिए। यतिमात्र होइन, अब भविष्यमा कसैको समर्थन नलिई एक्लै प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौति समेत दिएका थिए। यो भनाईको अन्तर्य पनि संसदीय निर्वाचन आफू प्रधानमन्त्री बनेर गराउन प्रचण्ड लालायित छन् भन्ने नै देखिन्छ।

त्यही उदेश्य पूरा गर्न प्रचण्डले गठबन्धनमा छट्पटी उत्पन्न हुनेगरी असन्तुष्टि पोखेको विश्लेषण गरिँदैछ। यता प्रधानमन्त्री देउवामाथि दवाव बढाउँदै उता प्रमुख प्रतिपक्षी दल एमालेसँग नयाँ गठबन्धनको सम्भावनाको खोजी गर्न प्रचण्डले सम्भव भएजति विकल्प सक्रिय गराएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले दृश्यटिभीसँग बताएका छन्। ओली र प्रचण्डले एकअर्काप्रति अत्यन्त तीतो टिकाटिप्पणी र अपमानजनक लान्छना लाईसकेकाले त्यति सजिलैसँग सहकार्यको सम्भावना नदेखिए पनि कम्युनिस्ट पार्टीका हकमा भने यत्तिकै भरमा विश्वास गरिहाल्न  नसकिने ती केन्द्रीय सदस्यको भनाई छ।

आगामी संसदीय निर्वाचनमा कतिपय नेताहरुले आफ्नो निर्वाचन क्षेत्र नै फेरबदल गर्ने बारेमा परामर्श गर्न थालेको बुझिएको छ। धरान, जनकपुर, काठमाडौं र धनगढीको निर्वाचनमा सोचेभन्दा फरक परिणाम आएपछि नेताहरुले आफूलाई असुरक्षित महसुश गर्न थालेको जानकार सूत्रहरुले बताएका छन्। झापाको दमक नगरपालिकामा एमाले विरुध्द बनेको निर्वाचन गठबन्धनले आफ्नो उम्मेदवार जिताउन सफलता पाएको छ। दमक एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रको मुख्य किल्ला मानिन्थ्यो।

स्थानीय निर्वाचनमा ओलीको मुख्य किल्ला नै कब्जामा लिन सफल भएको गठबन्धनले संसदीय निर्वाचनमा यस्तै रणनीति अपनाउने सम्भावना देखिएकाले स्थानीय नेताकार्यकर्ताले ओलीलाई झापाकै अर्को निर्वाचन क्षेत्रमा सर्न सल्लाह दिन थालेको बताईन्छ। झापाको निर्वाचन क्षेत्र नम्बर पाँचबाट ओली सरे नै भने बिर्तामोड नगरपालिका रहेको दुइ नम्बरमा पुग्न सक्ने सम्भावना रहेको चर्चा छ। 

माओवादी अध्यक्ष प्रचण्डमा यस्तै भय हुनसक्छ। उसैगरी एकिकृत समाजवादीका नेता माधव नेपालमा पनि। सत्ताको बागडोर हातमा लिएर निर्वाचनमा जाने लालसाको मुख्य कारण नै असुरक्षा हो भन्नेमा कुनै शंका छैन।

यसैपनि संसदीय निर्वाचन कहिले भन्ने प्रश्न नै अहिलेसम्म अनुत्तरित छ। यसै वर्षको मंसीर महिना निर्वाचन गर्ने नियमित कार्यतालिका हो तर सरकारले कुनै कारण उपस्थित गराएर फागुनसम्म सार्न सक्ला। प्रधानमन्त्री देउवा सकेसम्म फागुनसम्म निर्वाचनको मिति धकेल्न चाहन्छन् भन्ने अड्कल गरिएको छ। गठबन्धनका नेताहरु प्रचण्ड र नेपाल भने मंसीरमै निर्वाचन गर्न चाहन्छन् भन्ने पनि बुझाई छ। अहिले प्रचण्डको अभिव्यक्तिपछि अचानक उत्पन्न तरंग कसरी थामिने हो त्यसले नै भावी राजनीतिको नक्शा प्रष्ट हुने देखिन्छ।

प्रतिक्रिया