उनी जता हुन्छन्, जनमत उतै

उनी जता हुन्छन, जनमत उतै ढल्किन्छ। दिलिपकुमार अग्रवाल अर्थात दिलिप बगडिया, मोरङ रंगेलीका निर्वाचित मेयर। स्थानीय निकायको निर्वाचन सुरु हुनुभन्दा ३५ दिनअघि मात्र उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले प्रवेश गरेका थिए। 

यसअघि २०७४ सालको चुनावमा उनले नेकपा माओवादी केन्द्रलाई चुनेका थिए। नेपाली कांग्रेसको बलियो संगठन भएको रंगेलीमा उनी माओवादी केन्द्रबाट मैदानमा उत्रिएपछि माओवादीको संगठन बलियो भएको थियो। 

उनले २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका मोदराज घिमिरेलाई मेयर पदमा १८ सय ९२ मतले पराजित गरेका थिए। त्यतिबेला उनले आफूसहित तीन वटा वडामा माओवादीलाई जिताउन अहम भूमिका निर्वाह गरे। 

यसपालि नेकपा एमालेमा ३५ दिनको छोटो अभियानमा नै उनले मेयर, उपमेयर मात्र होइन, ९ वटा वडालाई नै एमालेमय बनाएका छन्। अर्थात रंगेली नगरपालिका एमालेको ‘लालकिल्ला’ मा परिवर्तित भएको छ। 

कुनैबेला उनी नेपाली कांग्रेसका कट्टर समर्थक थिए। उनले यो क्षेत्रमा कांग्रेसी उत्पादन गर्न खुब लगानी पनि गरे। तर, पछिल्लो समय उनी माओवादी हुँदै एमाले बनेका छन्। उनी जुन पार्टीमा समाहित हुन्छन्, त्यो पार्टीको पल्ला भारी हुन्छ भन्ने कुरा एकपल्ट फेरि स्थापित भएको छ।  

६–७ वर्षअघि मात्र उनी नेपाली कांग्रेसका दिंवगत सभापति गिरिजाप्रसाद कोइरालाको नाममा दादरबेरियामा २० विघा जग्गा दान गरेर जीपी कोइराला हर्ट फाउन्डेसन खोल्ने अभियानमा सक्रिय थिए। 

तर, माओवादी नेता शिवकुमार मण्डलसँग हिमचिम बढेपछि उनी एक्कासी माओवादी पार्टीमा प्रवेश मात्र गरेनन्, उनले मेयरको टिकट लिँदै ८ हजार ६८ मतसहित विजयी पनि भए। यतिबेला एमालेका सन्तोष कुमार साहले ३ हजार १ सय २१ मत मात्र प्राप्त गरेका थिए। 

तर, पछिल्लो समय माओवादी नेतृत्वसँग निरास भएका उनी चुनावको मुखमा आएर एमाले बने। यसपालि उनी १२ हजार ८ सय ६१ मत प्राप्त गर्दै विजयी भए। यसपालि पनि उनले नेपाली कांग्रेसका मोदराज घिमिरेलाई नै ३८ सय मतले पराजित गरे। मोदराजले ९ सय ६१ मत प्राप्त गरे। माओवादीका लिलादेवी संग्रौलाले ८ सय १२ मत मात्र प्राप्त गरे। 

अघिल्लो चुनावमा माओवादीकी केशव कुमारी खराल १२ मतले उपमेयरमा विजयी भएकी थिइन। तर, यतिबेला एमालेकी भुमा कुमारी पराजुली ६ हजार ६ सय १५ मतले विजयी भइन। उनले जनता समाजवादी पार्टी (जसपा) का पन्नालाल मण्डलले ल्याएको ५ हजार १ सय ७५ मतको तुलनामा ११ हजार ७ सय ९० मत प्राप्त गरिन्। माओवादीका मोहम्मद रफिक मियाँले १३ सय ३० मत मात्र प्राप्त गरे। 
यस्तै, वडा नम्बर १ देखि ९ सम्म एमालेकै उम्मेदवार वडा अध्यक्षमा विजयी भए। यसले रंगेलीमा दिलिप बगेडियाको ताकत प्रमाणित भएको छ।   
 

प्रतिक्रिया