विश्वप्रकाशको गृहनगरमा एमालेको सूर्य उदायो

काठमाडौं। अन्तिम समयमा इन्द्रबहादुर बुढाथोकीलाई मेयरको उम्मेदवार बनाउन सफल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमालेको सूर्य उदाएको छ। 

एमालेका गोपालचन्द्र बुढाथोकीले इन्द्रलाई ५ हजार १ सय ६७ मतले पराजित गरेका छन्। गोपालले २६ हजार ४ सय ७८ मत प्राप्त गर्दा इन्द्रले २१ ह्जार ३ सय ११ मत ल्याएका थिए। 

अघिल्लो चुनावमा नेपाली कांग्रेसका बिमल आचार्यले नेकपा एमालेका विष्णुप्रसाद प्रसाईंलाई १५ सय ८४ मतले पराजित गरेका थिए। त्यतिबेला आचार्यले २० हजार ७ सय ७६ मत तथा प्रसाईंले १९ हजार १ सय ९२ मत प्राप्त गरेका थिए। माओवादी केन्द्र तेस्रो स्थानमा थियो। माओवादीका हंसलाल राजवंशीले ७ हजार ६ सय ९४ मत प्राप्त गरेका थिए। अहिले माओवादीसहित गठबन्धनको उम्मेदवार बने पनि इन्द्रलाई त्यसको लाभ भएन। उनलाई गठबन्धनको तर्फबाट भोट नपरेको स्पष्ट देखिएको छ। 

यसपालि १५ हजार मतदाता थपिएको मेचीनगरमा विश्वप्रकाश र कृष्ण सिटौलाबीचको राजनीतिक टकरावले पहिलेदेखि नै अन्तरघात हुने आशंका गरिएको थियो।

कांग्रेसको प्रदेश समितिले पहिले केशवराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, अन्त्यमा विश्वप्रकाशको प्रभावले इन्द्रले टिकट पाए। 

अहिले विजयी एमाले उम्मेदवार गोपाल पहिले प्रदेश सभा सदस्य थिए। उनलाई मेयरमा उठाउनका लागि प्रदेश सरकारको १० महिनाको अवधि सकिनुअघि नै राजीनामा गर्न लगाइएको थियो। 

यस नगरको उपमेयरमा पनि एमालेकै मिना उप्रेती दोहरिएकी छिन्। उनले २१ ह्जार ५ सय ९० मत प्राप्त गरिन्। गठबन्धनबाट माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत मात्र प्राप्त गरे। राप्रपाकी सविना बजगाइँले ९ हजार ८ सय ८० मत प्राप्त गरिन्।  

प्रतिक्रिया