भरतपुरमा ६० हजार मत गणना हुँदा रेनु तीन हजार मतले अगाडि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार २०५ मतले अग्रता लिएकी छन् ।

महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले १९ हजार ३९३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गरेका छन् ।

महानगरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राखेका छन् । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गरेकी छन् ।

यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा (एकीकृत समाजबादी)का उम्मेदवार अध्यक्षमा विजयी हुनु भएको छ । यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
 

प्रतिक्रिया