ओलीलाई हेलिकोप्टरमा उतारेर तामझाम गरेका आङ्काजी ५७८ मतले पराजित

सोलुखुम्बु। नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटालाई अतिथि बनाएर हेलिकोप्टरमा सोलु ल्याएका नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि आङ्काजी शेर्पा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयर पदमा पराजित भएका छन्। 

नेपाली कांग्रेसबाट टिकट नपाउने सुनिश्चित भएपछि ठूलो तामझामका साथ उनी चुनावको मुखमा एमाले प्रवेश गरेका थिए। तर, उनी आफ्नै पूर्व सहयात्री नेपाली कांग्रेसका नाम्गेल जाङ्बु शेर्पासँग ५ सय ७८ मतान्तरले पराजित भए। नाम्गेलले ४ हजार ९ सय ६८ मत प्राप्त गरेका थिए। आङ्काजीले ४ हजार ३ सय ९० मत प्राप्त गरे। 

पार्टी प्रवेश कार्यक्रममा आङ्काजीले आफ्नो पुरानो पार्टीलाई गाली गर्दै नेकपा एमालेले देशैभरी चुनाव जित्ने बताएका थिए। 

यो नगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै गान्धीमाया तामाङ ४ हजार ६ सय ६७ मत प्राप्त गर्दै विजयी भइन्। एमालेकी मोहनकुमारी कार्कीले उनलाई कडा टक्कर दिँदै ४ हजार १७ मत प्राप्त गरेकी थिइन।  
 

प्रतिक्रिया