युरोपमा फैलिदै दुर्लभ रोग ‘मङ्की पक्स’

काठमाडौं। विकसित देशहरूमा विस्तारै ‘मङ्की पक्स’ फैलिन सुरु भएको छ। बेलायतपछि यो दुर्लभ रोग अब अमेरिका पुगेको छ। क्यानडाबाट अमेरिकाको म्यासाच्युसेट्स फर्किएका एक व्यक्तिलाई बुधबार संक्रमणको पुष्टी भएसँगै अमेरिकी सरकारका लागि टाउको दुःखाईको विषय बनेको छ। अमेरिकामा यस वर्षको यो पहिलो घटना हो। 

दुर्लभ मानिएको ‘मङ्की पक्स’ संक्रमण केही दिनयता बेलायत, स्पेन, पोर्चुगल र क्यानडामा फैलिदै गएको छ। 

के हो ‘मङ्की पक्स’?

‘मङ्की पक्स’ संक्रमण ‘चिकन पक्स’ भाइरसको परिवारको सदस्य नै मानिन्छ। ‘मङ्की पक्स’ सन् १९७० मा पहिलो पल्ट बाँदरमा फेला परेको थियो, जुन १० अफ्रिकी राष्ट्रमा फैलिएको थियो। अमेरिकामा यसको संक्रमण २००३ मा पहिलो पल्ट फेला पर्यो। सन् २०१७ मा नाइजेरियामा ‘मङ्की पक्स’ ले खतरनाक रूप धारण गरेको थियो। यतिबेला नाइजेरियामा ७५ प्रतिशत पुरुष संक्रमित बनेका थिए। बेलायतमा २०१८ मा यसको पहिलो संक्रमण देखिएको थियो। 

विज्ञहरू यसलाई दुर्लभ मान्छन् र यसको परिणाम गम्भीर हुनसक्ने बताउँछन्। हाल यसको प्रभाव मध्य तथा पश्चिम अफ्रिकी देशहरूमा बढी छ। तर, विस्तारै युरोप हुँदै यो अमेरिकातर्फ फैलिन थालेको छ। ६ मेमा बेलायतमा फेला परेका संक्रमित पनि नाइजेरियाबाट फर्किएका थिए। 

कसरी फैैलिन्छ संक्रमण?

विज्ञहरूका अनुसार ‘मङ्की पक्स’ संक्रमितको नजिकै जाँदा यो रोग फैलिने सम्भावना बढी हुन्छ। यसको भाइरस संक्रमितको घाउबाट निक्लिएर आँखा, नाक, मुख हुँदै शरीरभित्र प्रवेश गर्छ। बादर, कुकुर र लोखर्के जस्ता संक्रमित जनावरको कपडाबाट पनि यो रोग सर्न सक्छ। संक्रमितहरू ‘मङ्की पक्स’ सँग ७ देखि २१ दिनसम्म मात्र लड्न सक्छन्। 

स्पेन र पोर्चुगलमा ‘मङ्की पक्स’ का ४० तथा बेलायतमा ९ संक्रमित फेला परेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सतर्क बनेको छ। उसले समलंैगिक रोगीमा पनि यो भाइरसको संक्रमणको परीक्षण गरिरहेको छ। सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन (सीडीसी) ले पनि सम्भावित संक्रमितको पहिचान गर्न ‘कन्ट्याक्ट ट्रेसिङ’ लाई तीब्र बनाएको छ। 
समलैंगिक पुरुषलाई संक्रमणको खतरा

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार बेलायतमा भेटिएका ‘मङ्की पक्स’ का संक्रमणकारीमा बढी समलैंगिक सम्बन्ध राख्ने पुरुष छन्। यो परिणाम बाहिरिएपछि त्यहाँको स्वास्थ्य विभागले समलैंगिक पुरुषलाई सतर्क रहन आग्रह गरेको छ। 

‘मङ्की पक्स’ को लक्षण

बेलायती स्वास्थ्य संस्थाका अनुसार ‘मङ्की पक्स’ को सुरुवाती लक्षण फ्लु जस्तै हुन्छ। पहिले टाउको दुख्ने, मांसपेशी दुख्ने, कम्मर दुख्ने, काम ज्वरो आउने, थकान महसुस हुने गर्छ। यसपछि अनुहारमा एक प्रकारको दाना जस्तै सानोसानो फोका देखा पर्छ। संक्रमणको बेला यो शरीरको विभिन्न भागमा फैलिने गर्छ र यसले अन्य स्वरुप धारण गर्छ। अन्तिममा यो ‘चिकन पक्स’ जस्तै देखिन्छ। 

‘चिकन पक्स’ को भ्याक्सिन ‘मङ्की पक्स’ का लागि असरदार

सीडीसीका अनुसार ‘चिकन पक्स’ को भ्याक्सिन ‘मङ्की पक्स’ को संक्रमणका लागि पनि असरदार हुन्छ। यो दुर्लभ रोगबाट बच्न अमेरिकी फुड एण्ड ड्रग एसोसिएसन (एफडीए) ले सन् २०१९ मा जेनोइस नामको भ्याक्सिनलाई स्विकृति दिएको थियो। यो भ्याक्सिनलाई सन् २०१३ मा युरोपेली मेडिसिन एजेन्सीले स्विकृति प्रदान गरिसकेको थियो। भ्याक्सिनलाई १८ वर्षभन्दा माथिका व्यक्तिलाई मात्र प्रयोग गर्न सकिन्छ। 
 
 

प्रतिक्रिया