मतपेटिकाको सिलमा अल्झिए कांग्रेस र एमाले, गणना प्रभावित

काठमाडौं। एउटा मत पेटिकाको सिल खुस्किएको बिषयमा प्रमुख दुइ दल विवादमा उत्रिएपछि बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। उपमहानगरको वडा नं. ११ को मतगणना हुँदै गर्दा एउटा मतपेटिकाको एउटा सिल खुस्किएको थियो। यसलाई नेपाली कांग्रेस र एमालेले षड्यन्त्र देखेपछि मत गणना रोकिएको छ। 

वडा नं. ११ का मतपेटीका मध्ये एकको   सिल खुस्किएर कपडामै फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमालेको गढ मानिएको बुटवलमा यसपाली नेपाली कांग्रेसले अग्रता लिईरहेको छ।

आफ्नो गढमा पछि पर्दै गएको एमालेले ११ नम्बर वडाको मत पेटिका मध्ये एउटाको सिल खुस्एिको भन्दै बिरोध गरेको छ। सिल खुस्किएको भनिएको सो वक्सामा लगाइएका अरु तीन वटा सिल जस्ताको तस्तै रहेको र एउटा सिल टुटेको अवस्थामा कपडामै भेटिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकारीहरुका अनुसार मतपेटिकाको सिल गरिसकेपछि ती बक्साको सुरक्षाको दायित्व निर्वाचन कार्यालयको हुन्छ। सुरक्षा घेराबीच निर्वाचनका कर्मचारी र सुरक्षा निकाय बाहेक बक्सा भएको स्थानमा अरु कोही पनि जान नपाउने भएकाले यस्तो अवस्थामा सिल तोडिदा त्यसको जिम्मेवारी सम्बन्धित कर्मचारीले नै लिनु पर्ने निर्वाचन अधिकारीहरु नै बताउँछन्।

नेपाली कांग्रेसले भने हार्ने अवस्थामा पुगेपछि एमाले निकटका कर्मचारीसँगको मिलेमतोमा यस्तो विवाद सिर्जना गरिएको बताईरहेको छ। बुटवलको निर्वाचन तथा मतगणना प्रक्रियामा सहभागी अधिकांश कर्मचारी बुटवल उपमहानगरपालिकाका छन्। ती कर्मचारीहरु मध्ये धेरैजसो एमाले समर्थक भनेर चिनिने कर्मचारी रहेको कांग्रेसको दावी छ।

२०७४ को निर्वाचनमा भारी मतले जितेको एमाले यसपटकको अहिलेसम्मको गणनामा ५ हजार मतान्तरले पछाडी छ। यसपटक करिब ११ हजार मत खसेको वडा नं.११ मा पनि एमालेले २०७४ मा भारी मत अन्तरले जितेको थियो। तर यसपटक अन्य वडामा देखिएको मतदानको झुकावले यो वडा पनि एमालेको हातबाट फुत्किने र कांग्रेसले जित्ने आँकलन गरिएको छ।

सर्वदलीय बैठक बसेर विवाद सल्टाउने प्रयाश भैरहेको आयोगले जनाएको छ। वडा नम्बर ११ बाहेकका वडाको मतगणना भैरहेको छ।
 

प्रतिक्रिया