पूर्व मन्त्री जोशीको छोराको झडप भएको तनहुँमा आज मतदान हुँदै 

तनहुँ। नेपाली कांग्रेसका पूर्व मन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलाई कुटपिट गरिएको तनहुँको व्यास नगरपालिका–८ रिस्तीस्थित मतदान केन्द्रमा बुधबार पुनः मतदान सुरु भएको छ। 
मतदान केन्द्रको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए। 

दीपकले स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। बैशाख ३० गते मतदान केन्द्र पुगेका दीपकमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए। उनीमाथि मतपत्र च्यातेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएका थिए। टाउकोमा चोट लागेका दीपक हाल काठमाडौंमा उपचारार्थ छन्। 

तनहुँ नेपाली कांग्रेसका दुई बरिष्ठ नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको राजनीतिक प्रतिद्धन्द्धीताका कारण बदनाम छ। आफ्नो छोराले मेयर पदको टिकट नपाएपछि गोविन्दराजले स्वतन्त्र उम्मेदवारको रूपमा उठाएका थिए। गोविन्दराजको जिल्लामा राम्रो प्रभाव छ। 

पुनः मतदान सुरु भएको स्थलअन्तर्गत ‘क’ केन्द्रमा ७ सय ५६ र ‘ख’ केन्द्रमा ८ सय २० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। व्यास नगरपालिकामा नेपाली कांग्रेसबाट बैकुण्ठनाथ न्यौपाने मेयर पदको उम्मेदवार छन्। यो क्षेत्रमा दीपकराज र नेकपा एमाले पार्टीबीच गठबन्धन रहेकाे छ। 
 

प्रतिक्रिया