चाँगुनारायणको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । खत्री नौ हजार ५५० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरिन् । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोगेकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपमेयर थिइन्।

त्यसैगरी उपमेयरमा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । बुढाथोकी ११ हजार १०७ मत प्राप्त गरी विजयी भए भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरिन् । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गरे भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गरे । उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गरिन् ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन् ।

प्रतिक्रिया