विराटनगर, वीरगंज र पोखराको मेयरमा गठबन्धनको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गरेको सूचनाअनुसार १८ हजार ६४ मतगणना गर्दा नेपाली कांग्रेसका महानगरका मेयरका उम्मेदवार नागेश कोइरालाले पाँच हजार ६९३, नेकपा (एमाले)का सागर थापाले ४ हजार ८३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ९७४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की शिल्पा निराला कार्कीले चार हजार ६८७, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले तीन हजार ३६३, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले एक हजार २२४ मत प्राप्त गरेका छन् ।

यस्तै विराटनगर–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत ल्याएर विजयी भएका छन् । विराटनगर–१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले ७१६ मत ल्याएर विजयी हुनुभएको छ । अहिले महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १३, १४, १५ वडाको मतगणना भइरहेको छ । महानगरमा १९ वडा रहेका छन् ।
पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यको मतान्तर बढ्दै
पोखरा । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्तारूढ गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको मतान्तर बढ्दै गएको छ । महानगरको वडा नं १, २, ३, ४, १२, १३ २३, २४ र २५ को हालसम्म १३ हजार ८९७ मत गणनामा आचार्यले पाँच हजार ६९० मतसहित अग्रता बनाएका हुन् । उनका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापाले पाँच हजार ५० मत ल्याएका छन् । महानगर प्रमुखमा ६४० मतान्तरले आचार्य अघि छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाट झिनो मतसहित अघि छिन् । रानाभाटले पाँच हजार ७१९ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको पाँच हजार ६८७ मत छ ।

हालसम्म महानगरका तीन वडाको अन्तिम मत परिणाम सार्वजनिक भएकामा वडा नं १ मा एमाले र वडा नं २ र वडा नं १२ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । कास्कीमा पाँच पालिकामध्येमा हालसम्म रुपा र माछापुच्छ्रेको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

रुपामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा एमाले र माछापुच्छ्रेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी गणना जारी रहेका अन्नपूर्ण र मादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ ।
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मतान्तरले अग्रतालाई निरन्तरता दिएका छन् ।

सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गरेका हुन् । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित उनीसँग प्रतिस्र्धामा छन् । महानगरपालिकाको पछिल्लो मतगणना अनुसार वडा नं. १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनानुसार उक्त मत परिणाम बाहिर आएको हो । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ । त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो ।

यसैबीच वीरगञ्ज महानगरपालिकाको जारी मतणनाअन्तर्गत मतगणनालाई चाँडो सम्पन्न गर्न आज मतगणना स्थल र गणक थपिएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १५ पिपरास्थित श्री नृसिंह माविमा वैशाख ३१ गतेदेखि चार वटा वडाको मात्र मतगणना भइरहेकोमा आजदेखि थप दुई वडाको गणना थालिएको हो ।

वीरगञ्ज महागरपालिकाको यस अगावै वडा नं १, २, ३१ र ३२ को मतगणना भएकोमा आज देखि थप वडा नं ३ र ३० को गणना थालिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया